काठमाडौं– गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश उच्च अदालत पाटनले उल्टाएको छ। मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीमणकुमार गौतमको इजलाशले जिल्लाको आदेश उल्टाउँदै थुनामा पठाउने आदेश गरेको हो।
जिल्ला अदालतले असोज १ गते थापाका भाइ नरेशलाई धरौटीमा रिहा गर्दै अन्यलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसविरुद्ध सरकारी पक्षले उच्च अदालतमा निवेदन दिएको थियो। उक्त निवेदनमा सुनुवाइ गर्दै उच्चले थुनामा पठाएको हो।
उनीसँगै पक्राउ परेका अन्य ५ जना भने जिल्लाको आदेशले पुर्पक्षका लागि थुनामा रहेका छन्।
व्यवसायीलाई धम्क्याउँदै रकम उठाउन खोजेको आरोपमा गृहमन्त्री थापाका भाइ थापासहित काठमाडौं स्युचाटारका पवन खड्का, काठमाडौं इचंगुनारायणका सुरेन नगरकोटी, काठमाडौं भेडासिंहका शैलेश प्रजापति, काठमाडौं नागार्जुनका विनोद लामा, प्रहरी जवान वीरबल भट्टराई, मनबहादुर पुन मगर पक्राउ परेका थिए। प्रहरी जवान भट्टराईले जेलमा रहेका गुन्डा नाइके बस्नेतलाई पटकपटक फोन गर्नका लागि आफ्नो मोबाइल दिएको आरोप लागेको थियो।
त्यस्तै पक्राउ परेका गृहमन्त्री थापाका भाइ नरेशलाई समीरमानलाई जेलमा भेटेको र व्यवसायीलाई धम्क्याएर रकम असुल्न काममा संलग्न भएको आरोप लागेको थियो। नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा गुन्डा नाइके बस्नेत पक्राउ परेपछि उनी केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन्।
जेलमा बसकै बेला उनले आफ्ना केटाहरु प्रयोग गरेर धम्क्याउँदै रकम असुल्ने धन्दा लागेको प्रहरीले जनाएको छ। यसरी रकम उठाउने गिरोहसँग गृहमन्त्री थापाका भाइको कनेक्सन देखिएपछि उनी पनि पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।