काठमाडौं- आफ्ना अभिकर्ताकोे क्षमता अभिवृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ कार्यक्रम गरेको छ।
कार्यक्रममा १ हजार ५ सयभन्दा बढी सक्रिय अभिकर्ताको उपस्थिति थियो। कार्यक्रममा सिईओ विवेक झाले नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डर भनेकै देशका कुनाकुनामा पुगेर जीवन बिमाका बारेमा सचेतना फैलाउने सम्पूर्ण अभिकर्ता भएको बताए। त्यसैले कम्पनीले सक्रिय अभिकर्ता अझ बढाएर चालू आवमा दोब्बर गर्ने लक्ष्य राखेको झाले उल्लेख गरे।
बिमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्यूनीकरण र अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने उनको भनाइ थियो। उनले बिमा गराउनुभन्दा पहिले बिमा गर्ने व्यक्तिको आर्थिक स्थिति बुझेर, जीवन बिमाको आवश्यकता महसुस गराएर मात्र बिमा गराउन सुझाव दिए।
कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले सम्पूर्ण अभिकर्ताहरुले आम नागरिकलाई बिमाका बारेमा बुझाएर मात्र बिमा गराउन सुझाव दिए।
पेशागत बिमा अभिकर्ता संघ केन्द्रीय समितिका अध्यक्ष नन्दप्रसाद तिवारीले अभिकर्ताहरु र कम्पनी दुवै पक्षको सहकार्यले नै कम्पनीले यो सफलता हात पारेको दाबी गरे। त्यस्तै, पेशागत बिमा अभिकर्ता संघ बिमक समिति (नेपाल लाइफ) का अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफको उच्च व्यवस्थापनको सही निर्णयले नै कम्पनीले उच्च स्थान हासिल गर्न सकेको बताए।
कार्यक्रममा सगरमाथो आरोहण गर्ने पहिलो नेपाली फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरिएको थियो। मिसन २०२० अन्तर्गत अन्नपूर्ण १ चढ्ने तयारीमा रहेकी श्रेष्ठले आमादाब्लम तथा मनास्लु हिमालको सफल आरोहण गरिसकेकी छन्। कार्यक्रममा मोटिभेटर बालकृष्ण शर्माले प्रशिक्षण दिएका थिए।
जीवन बिमा कम्पनीमध्ये करिब एक तिहाइ बजारहिस्सा ओगटेको नेपाललाइफको चुक्तापूँजी ५ अर्ब ५० करोडको छ भने लगानी ८२ अर्ब ५९ करोड रुपैयाँ छ । हालसम्म स्वदेश र विदेश गरी २७ लाख २ हजार ३ सय व्यक्ति यस कम्पनीमा बिमित भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।