काठमाण्डौ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले सार्वजनिक खरिद नियमावली नवौं संशोधन आइसकेपछि कुनै पनि आयोजनाहरु शून्यमा बस्न नसक्ने बताएका छन्।
सोमबार सडक बोर्ड नेपालले आयोजना गरेको रणनीतिक सडक मर्मत सम्भारसम्बन्धी वार्षिक समिक्षा एवं प्रगति गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
गोष्ठीमा सडक विभाग, सडक बोर्ड नेपाल, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय र विभिन्न डिभिजन प्रमुखहरुलाई लक्षित गर्दै मन्त्री नेम्वाङले सार्वजनिक खरिद नियमावली नवौं संशोधनले गम्भीर बनाएको हुनसक्ने बताए।
‘हामीले कामका सबै क्षेत्रलाई हेर्नु पर्दछ,’ उनले भने, ‘सार्वजनिक खरिद प्रक्रियालाई पछ्याउनै पर्छ।’ राज्यले कानुन बनाएरै निर्माण व्यवसायीहरुलाई मौका दिएकाले अब कुनै पनि ठेक्काहरु म्याद थप नभएको अवस्था नहुने उनले उल्लेख गरे।
मन्त्री नेम्वाङले रणनीतिक सडकहरुको मर्मत सम्भार गर्ने कार्य सानो भएपनि त्यसको असर र प्रभाव व्यापक रहेको बताए।
‘सडक मर्मत, सडक सुरक्षा, सडक दुर्घटनासँग जोडिएका हुन्छन्। जुन काम सानो भएता पनि महत्वपूर्ण काम हो,’ मन्त्री नेम्वाङले भने, ‘काम हेर्दा सानो देखिन्छ तर त्यसले पार्ने दुरगामी प्रभाव अत्यन्तै महत्वपूर्ण हुन्छ।’
मुलुकभरीका सबै उपभोक्तादेखि नीति निर्माण तहमा रहेका सबैले सडकको अवस्थालाई गम्भीर रुपमा नियाली रहेकाले सडकको निर्माण, मर्मत सम्भारसँग सम्बन्धित जिम्मेवारी बहन गर्नेले यसलाई सानो कामको रुपमा नलिन उनले सबैलाई आग्रह गरे।
सडक मर्मत सम्भार सेकेन्डरी काम हुन नसक्ने उल्लेख उनको भनाइ छ। ‘केही अघिसम्म सडकका खाल्डाखुल्डी नपुरिएका कारण सडक दुर्घना बढ्यो, मानिसहरुको मृत्यु भयो, घाइते भएका कारण जनजीवन अस्तव्यस्त भयो भन्ने निक्कै चासो रह्यो। त्यसैले यो क्षेत्र प्राथमिकतामा रहनुपर्छ। नयाँ बाटो निर्माण, कालोपत्रे त्यो सँगसँगै मर्मतमा ध्यान दिनु जरुरी छ,’ मन्त्री नेम्वाङले भने।
मन्त्री नेम्वाङले अहिलेसम्मको भौतिक प्रगति तथा पूँजिगत खर्च साह्रै न्यून र निराशाजनक रहेको भन्दै यतातिर गम्भीर हुन निर्देशन दिए। ‘हामी गम्भीर बन्न जरुरी छ। हामी जवाफदेही बन्न जरुरी छ। देशको अधिकांश भौतिक निर्माणका जिम्मेवारी हामीले लिएका छौं,’ उनले भने, ‘हाम्रो कामबाट मुलुक परिवर्तित हुने भएकाले हामी सबै जिम्मेवार हुनुपर्छ।’
उनले जिम्मेवार तहमा रहेकाले आत्मसमिक्षा गर्नुपर्ने उल्लेख गर्दै भने, ‘हामीले आत्मसमिक्षा गर्नु जरुरी छ। मैले ध्यान दिएन भने कस्ले दिन्छ। मैले गरिन भने कस्ले गर्छ। मुलुक निर्माण गर्ने महत्वपूर्ण ठाउँमा हामी छौं,’ उनले भने, ‘त्यो जिम्मेवारी राज्यले दिएको छ। अधिकार दिएको छ। सुविधा दिएको छ। बजेट दिएको छ। हामीले मात्रै कार्यान्वयन गर्ने हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।