अनुभव सिन्हा निर्देशित ‘थप्पड’ यतिबेला सर्वत्र चर्चामा छ। भारतमा मात्रै होइन, यसले नेपालमा समेत चर्चा पाइरहेको छ।
आफ्नै निर्माता पति छविराज ओझाबाट घरेलु हिंसा भोगेकी शिल्पा पोखरेलले फिल्मको ट्रेलर रिलिज हुनासाथ ‘उसले मलाई पिट्न पाउँदैन, उसले मलाई थप्पड हान्न पाउँदैन’ स्टाटससहित फेसबुकमा ट्रेलर सेयर गरेकी थिइन्।
यो फिल्मलाई कतिपयले शाहिद कपुरको सुपरहिट फिल्म ‘कबिर सिंह’को जवाफका रुपमा समेत लिइरहेका छन्। ‘कबिर सिंह’मा साहिदले निर्वाह गरेको पात्रले उसकी प्रेमिकालाई थप्पड हान्छ। यो दृश्यलाई लिएर फिल्म समीक्षक तथा दर्शकले आलोचनासमेत गरेका थिए।
आलोचनाको जवाफमा फिल्मका निर्देशक सन्दीप रेड्डीले प्रेममा दुइ–चार थप्पड सामान्य रहेको प्रतिक्रिया दिएका थिए।
तर, तापसी पन्नु अभिनित ‘थप्पड’को ट्रेलर हेर्दा एक थप्पड हान्नु पनि महिला हिंसा हो भन्ने फिल्मको न्यारेटिभ रहेको देखाउँछ।
ट्रेलर हेर्दा तापसीले निर्वाह गरेको पात्रले पतिले सार्वजनिक रुपमा हानेको एक थप्पडविरुद्ध कानुनी उपचारको बाटो रोजेको देखाउँछ।
फिल्मको ट्रेलरले सर्वत्र चर्चा पाइरहेका बेला भारतकी केन्द्रिय मन्त्री स्मृति इरानीले समेत ट्रेलर सेयर गर्दै फिल्म जसरी पनि हेर्ने लेखेकी छिन्।
इन्स्टाग्राममा फिल्मको ट्रेलर सेयर गर्दै उनले लेखेकी छिन्, ‘कतिपय मान्छेहरु सोच्छन्, यो मारपिट भनेको गरिब महिलाका पतिले मात्रै गर्छन्। कति मान्छेहरु आफ्नो छोरी, आफ्नो बुहारीलाई सम्झाउने गर्छन्, ‘केही छैन, यो त हामीसँग पनि भएको थियो, तैपनि हामी खुशी छौँ।’ कतिपय कुरामा म फिल्म निर्देशकको राजनीतिक मुद्दाप्रति समर्थन गर्दिन होला या केही मुद्दालाई लिएर म अभिनेताहरुसँग सहमत हुँदिन होला तर यो यस्तो एउटा कथा हो जसलाई म अवश्य हेर्नेछु। र, अपेक्षा राख्छु यसलाई हरेकले आफ्नो परिवारसहित हेर्नेछ। एउटा महिलालाई मार्नु ठिक होइन, एक थप्पड पनि होइन, बस् एक थप्पड पनि होइन।’
मन्त्रीको प्रतिक्रियाप्रति निर्देशक सिन्हाले समेत धन्यवाद दिँदै फिल्म देखाउन आफू उत्साहित रहेको लेखेका छन्।
यो फिल्म फेब्ररी २८ मा रिलिज हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।