राजविराज– प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्रकुमार सोनलले २१औं शताब्दीमा पनि हात धुने र शौचालयमा दिसा गर्नेबारे सिकाउँदै हिँड्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण भएको बताएका छन्।
दिनप्रतिदिन मानिसले विकासको फड्को मार्दै चन्द्रमामा पुगिसक्दा पनि शौचालय निर्माण तथा हात धुनेबारे सिकाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने धारणा राखे।
सप्तरीलाई खुला दिसामुक्त घोषणा गर्न बुधबार राजविराज आएका मन्त्री सोनलले जिल्ला खुला दिसामुक्त घोषणा हुनु सकारात्मक भएको बताए।
सरसफाइका विषयमा सर्वसाधारण जनता आफैं सजग हुनपर्ने भन्दै उनले प्रतिष्ठाका लागि भए पनि सबैले घरमा शौचालय निर्माण गरी प्रयोगमा ल्याउनुपर्ने तर्क गरे। खुला दिसामुक्त अभियानले मलमूत्र विसर्जनका नाममा सडक छेउमा खुला शौच गर्ने स्थितिको अन्त्य गर्ने उनको भनाइ थियो।
खुला दिसामुक्त घोषणाका विषयमा जनस्तरबाटै आएका असन्तुष्टिलाई आफूले गम्भीर रुपमा लिएको भन्दै उनले ती समस्यालाई सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
यस्तै, प्रदेशसभा सदस्य मनिष सुमनले सप्तरी जिल्लामा ५० प्रतिशत मात्रै शौचालय निर्माण हुनु पनि सफलता भएको बताए।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले अभियानलाई सफल बनाउन घरमा मात्र शौचालय बनाएर नपुग्ने भन्दै सार्वजनिक ठाउँहरुमा पनि शौचालय निर्माणपछि मात्रै अभियानले सफलता पाउने बताए।
यता, घोषणा सभाको जनस्तरबाटै विरोध भएको छ। मापदण्ड नै पूरा नगरी भ्रामक तथ्यांक देखाएर जिल्लालाई खुला दिसामुक्त घोषणा गरेर चलखेल गरेको सर्वसाधारणले आरोप लगाएका छन्। ४ वर्षसम्म सञ्चालन भएको अभियानमा ९ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।