काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) २५ दिनदेखि नेतृत्वविहीन छ। माघ ५ गते कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएसँगै निगम कायममुकायमका भरमा चलिरहेको छ।
रिक्त पदमा मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई नियुक्त गरेको छ। अधिकारीले अहिले निगम सञ्चालन बोर्डको अध्यक्षता गरिरहेका छन्।
तर, निगमको महाप्रबन्धकमा नियुक्ति हुन सकेको छैन।
२०७५ भदौ २७ मा बसेको मन्त्रिपरिषद बैठकले निगम सञ्चालक समितिबाट मन्त्रालयका सचिवलाई हटाएर खरेललाई सञ्चालक समितिमा सदस्य बनाएको थियो। सञ्चालक समितिको सदस्य नियुक्त गरेको ३ दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको असहमतिमै खरेललाई कार्यकारीअध्यक्ष नियुक्त गरेका थिए।
तर, खरेलले प्रधानमन्त्रीसमक्ष कार्यकारी अध्यक्ष हुनका लागि बुझाएको योजना अनुसार काम नगरेपछि उनलाई राजीनामा दिन दबाब बढेको थियो। तर, खरेलले प्रधानमन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको सुझावसमेत अटेर गरिरहेका थिए। आफैंले कार्यकारी अध्यक्षमा नियुक्त गरेका खरेलको काममा प्रधानमन्त्री आफैं सन्तुष्ट थिएनन्। निगमको ६१ औं वार्षिकोत्सव समारोहमा सम्बोधनका क्रममा ओलीले नै खरेलको काममा आफू सन्तृष्ट नरहेको बताएका थिए।
त्यतिमात्रै नभई प्रधानमन्त्रीले काम गर्न नसक्ने भए पद ओगेटर नबस्न सुझाव दिएका थिए। उनले खरेलसँग निगमको पुँजी बिस्तारका लागि तत्कालको अवस्थामा लगानी गर्न नसक्ने भन्दै स्पष्ट व्यावसायिक योजना मागेको थिए। तर, खरेलले प्रधानमन्त्रीसमक्ष कुनै योजना पेस गर्न सकेनन् र पहिले दिएको योजनाअनुसार पनि निगमका जहाज उडान गर्न सकेनन्। उल्टो निगमलाई नै धरासायी बनाउने गरी आफ्नो स्वार्थपूर्तिमै लागिरहे।
तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको निधनको ५ महिनापछि मन्त्रालयको जिम्मेवारीमा आएका योगेश भट्टराईलाई समेत खरेलले टेरेनन्। एकपछि अर्को गर्दै स्वार्थपूर्तिमा लिप्त भइरहे।
मन्त्री भट्टराईले पनि दैनिकजसो निगमको कामलाई निगरानी गरिरहे। खरेलको काम गराईबाट निगमको शाख नै गुम्ने खतरा देखिपछि उनको विकल्पको खोजी गर्न थाले। निगमका उच्च पदस्थ कर्मचारीसँगको बिफ्रिङमै मन्त्री भट्टराईले खरेललाई बुढेसकालमा आराम गर्न सुझाए।
तर, खरेलले त्यसको कुनै वास्ता गरेनन्। ग्राउन्डेड हुँदा निगमका जहाजले उडान भर्न सकेनन्। खरेलको कामबाट दिक्क भएका मन्त्री भट्टराईले निगम सुधारका लागि भन्दै आवश्यक सुझावसहितको प्रतिवेदन दिन एक कार्यदल गठन गरे। कार्यदलले पनि निगम व्यवस्थापनकै कारण नेपाल एयरलाइन्स संकटमा परेको रिपोर्ट मन्त्रीलाई बुझायो।
सोही प्रतिवेदनका आधारमा मन्त्री भट्टराईले पनि निगम सुधारमा बिस्तारै सफ्ट थेरापीबाट काम गर्दै जाने उद्घोष गरे। सोही क्रम चल्दै गयो। आर्थिक वर्षको ४ महिने समीक्षामा खरेलले निगमका तर्फबाट मन्त्रीसमक्ष आफ्नो संस्थाको प्रगति र भावी योजना पेस गरे। तर, मन्त्री भट्टराईले खरेलको भावी योजनाको सिधै अस्वीकार गरे र भने एक साताभित्र नयाँ योजना पेस गर्न भने। खरेलले कुनै योजना पेस गरेनन्। मन्त्रीलाई बाइपास गर्दै आएका खरेलले सिधै प्रधानमन्त्रीसमक्ष गएर सञ्चालक बोर्डका कारण आफूले काम गर्न नसकेको गुनासो गर्न थाले।
गुनासो बाहिर आएसँगै सञ्चालक बोर्डले खरेलमाथि नै ५ बुँदे स्पष्टीकरण सोध्यो। तर, उनले स्पष्टकीरण नबुझाइ लामो समयको बिदा बोर्डबाट स्वीकृत गर्न लागे। बोर्डले स्पष्टीकरण नबुझाउँदासम्म बिदा नदिने भनेपछि खरेलमाथि नैतिक प्रश्न खडा भयो। एकातिर, प्रधानमन्त्री र मन्त्री असन्तुष्ट भएको र अर्कातिर सञ्चालक समितिबाटै स्पष्टीकरण सोध्ने काम भयो। त्यतिमात्रै नभए मन्त्रीले बारम्बार व्यावसायिक योजना माग्ने क्रम बढ्दै गयो। जसोतसो सबै विषयमा आलटाल गरिरहेका खरेललाई पाइलटहरुले साथ नदिने निर्णय गरे र २५ जनाले सयुक्त राजीनामा दिने तयारी गरे। त्यसपछि खरेलले बाध्य भएर राजीनामा दिए। पाइलटले खरेलले राजीनामा दिएपछि केही संसोधन गरेर सेवा सर्त पूरा नभए ३ महिनापछि राजीनामा दिने गरी चेतावनीपत्र बुझाएका छन्।
सरकारले ४ वर्षका लागि नियुक्त गरे पनि खरेल १६ महिनामै राजीनामा दिएर अस्ट्रेलिया पलायन भएका छन्। तर, सरकारले अझै उक्त रिक्त पदमा नयाँ व्यक्ति ल्याउन सकेको छैन। यसअघि पनि खरेलले २०७२ बैशाखमा निगम सञ्चालक बोर्डले सोधेको स्पष्टकीरण नबुझाइ राजीनामा दिएका थिए।
पद रिक्त भएको २५ दिनसम्म पनि कुनै व्यक्ति नियुक्त नुहँदा निगमको काम नै प्रभावित हुन थालेको छ। सबैभन्दा पहिला नयाँ नेतृत्व नआउँदा पाइलटको समस्या समाधान हुने अवस्था छैन। २२ पाइलटले नै राजीनामा दिएमा नेपाल एयरलाइन्सका सबै जहाज ग्राउन्डेड हुने अवस्था आउँछ।
यसैगरी निगम नेतृत्वविहीन हुँदा घाटामा गइरहेको निगमलाई सुधार गर्ने रणनीति पनि कार्यान्वयनमा आउन सक्ने अवस्था छैन। निगमले जहाज खरिदमा लिएको ऋणको किस्ता समेत पूर्ण रुपमा बुझाउन सकेको छैन। आन्तरिक उडानमा रहेका ९ जहाजमध्ये ४ वटामात्रै उडानमा छ भने ५ वटा ग्राउन्डेड छन्। खरेलकै कारण निमगले आर्थिक वर्ष २०७५/०७६ मा झन्डै २ अर्ब घाटा बेहोरेको थियो।
साथै राष्ट्रिय ध्वजबाहक नेपाल एयरलाइन्स नेतृत्वविहीन हुँदा २५ अर्ब रुपैयाँ खर्च गरेर ल्याइएको वाइडबडी जहाजको प्रभावकारी उडानसमेत नहुने निश्चित भएको छ।
सबैभन्दा ठूलो त भिजिट नेपाल २०२० मा समेत राष्ट्रिय ध्वजवाहक नेतृत्वविहीन भएकोमा पर्यटन व्यवसायीले प्रश्न गर्न थालेका छन। पर्यटन व्यवसायीले तत्काल नेपाल एयरलाइन्सको नेतृत्व चयन गर्न मन्त्रीसमक्ष ज्ञापनपत्रसमेत बुझाइसकेका छन्। तर, सरकारले भने निगमको नेतृत्वमा ल्याउने व्यक्ति नै भेटेको छैन।
प्रधानमन्त्री र रक्षामन्त्री सँगसँगै पर्यटनमन्त्रीसमेत निगमको नेतृत्व खोजीमा छन्। तर, उनीहरुले प्रस्ताव गरेका व्यक्तिले निगम सुधार्न नसक्ने गरी बिग्रिएको भन्दै प्रस्ताव अस्वीकार गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।