काठमाडौं- सिटिजन्स बैंकले साढे दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १०.२५ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ऋणपत्र निष्काशन गर्ने अनुमति प्रदान गरेको हो।
बैंकले एक अर्ब रुपैयाँको ऋणपत्र सर्वसाधारणको लागि जारी गर्नेछ। बाँकी एक अर्ब ५० करोड रुपैयाँको ऋणपत्र आफैंले बिक्री गर्नेछ। ऋणपत्र निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ।
उक्त ऋणपत्र निष्काशनका लागि इक्रा नेपालले गरेको क्रेडिट रेटिङअनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने 'इक्राएपि एल ट्रिपल बि प्लस' प्राप्त गरेको छ। बैंकले हाल कायम ५० करोड रुपैयाँको ऋणपत्रका लागि पनि रेटिङ गराएको छ।
यस ऋणपत्रले पनि सोहि संकेत प्रदान गर्ने रेटिङ प्राप्त गरेको छ।
गएका तीन वर्षमा बैंकको व्यवसाय १७ प्रतिशतले सुधार भएको छ। यसै अवधिमा सम्पुर्ण बैंकिङ क्षेत्रको वृद्धि २२ प्रतिशत छ। बैंकका सबैभन्दा धेरै निक्षेप जम्मा गर्ने २० जनाको हिस्सा ३९ प्रतिशत छ।
नेपाल धितोपत्र बोर्डले निष्काशन अनुमति प्रदान गरेसँगै बैंकले केही दिनमै सार्वजनिक निष्काशन गर्नेछ। नेपाल राष्ट्र बैंकले निर्देशन गरेअनुसार बैंकले दीर्घकालीन कोष व्यवस्थापनका लागि यो ऋणपत्र निष्काशन गर्ने भएको हो।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सम्पुर्ण वाणिज्य बैंकहरुले चुक्ता पुँजीको २५ प्रतिशत बराबरको ऋणपत्र अनिवार्य निष्काशन गर्नुपर्ने व्यवस्था गरेको थियो। यो ऋणपत्रलाई बैंकहरुले कर्जाको रुपमा लगानी गर्न पाउनुका साथै पुँजीकोषमा पनि गणना गर्ने सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।