काठमाडौं- नेकपा एमालेले पार्टी एकताको निर्णय अनुमोदन गराउन पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो बसेको स्थायी कमिटी बैठकले बैसाख ६ गते पोलिटब्युरो र ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो। एमाले सचिव योगेश भट्टराईले वाम एकता र समसामयिक विषयमा छलफल गर्न पार्टीको माथिल्लो कमिटीको बैठक बोलाउने निर्णय गरेको बताए।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन, राजकीय पदको बाँडफाँट, पार्टी एकता, नयाँ सरकारको नेतृत्व लगायतका विषयमा नेतृत्व संस्थागत ढंगले अघि बढ्न नसकेको भन्दै पार्टीका युवा नेताहरुले आवाज उठाउँदै आएका थिए। गत फागुन ७ गते पार्टी एकता गर्ने निर्णय गरिए पनि सो विषयमा संस्थागत छलफल र निर्णय हुन नसकेको गुनासो पार्टीभित्र उठ्दै आएको थियो। नेकपा एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी स्थापनाको अवसर पारेर बैसाख ९ गते पार्टी एकता गर्ने तयारी गरेका छन्। बैठकले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ र प्रमुख सचेतकमा खगराज अधिकारीलाई चयन गरेको छ। सचेतकमा शान्ता चौधरी चुनिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।