काठमाडौं- नेपाल व्यवस्थापन संघ 'म्यान'को अध्यक्षमा किरणकुमार श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठ म्यानको १९ औं प्रबन्ध समितिका लागि निर्वाचित भएका हुन्।
आइतबार संस्थागत र साधारण सदस्यसहित १७ जनाको लागि निर्वाचन भएको थियो। म्यानको कार्यसमितिको गठन निर्वाचित सदस्यहरु मध्येबाटै हुने प्रावधान छ। सोहि प्रावधानअनुसार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्।
साधारण सदस्यहरुका लागि १६ जना निर्वाचनमा होमिएका थिए। म्यानको प्रथम उपाध्यक्षमा संस्थागत सदस्यहरुको तर्फबाट नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र निर्वाचित भएका छन्। त्यस्तै द्वितीय उपाध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन्।
यसपटको निर्वाचनबाट नयाँ पुस्ताका व्यक्तिहरु निर्वाचित भएका छन्। म्यान सधैं उमेरपाकेकाकाे अखडा बन्दै आएको भन्ने आरोपलाई चिर्दै यसपटक कार्यकारी भूमिकामा रहेकै व्यक्तिहरु निर्वाचित भएका हुन्। महासचिवमा कृषि विकास बैंकका धर्मानन्द अवस्थी र कोषाध्यक्षमा इसिमोडका अनु जोशी निर्वाचित भएका छन्।

संस्थागततर्फ राष्ट्रिय वाणिज्य बैंकका कविराज अधिकारी, कर्मचारी सञ्चय कोषका तुलसीराम गौतम, कर्मचारी सञ्चय कोषका रमण नेपाल, राष्ट्रिय बीमा संस्थानका कवि पाठक र शिवम् सिमेन्टका प्रतिनिधि निर्वाचित भएका छन्।
कार्यसमितिका अन्य सदस्यहरुमा मनिष झा, सुजन आचार्य, हिमा अधिकारी, आशा राणा, इन्द्र श्रेष्ठ, मोहन झा, मिलन गुरुङ निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।