काठमाडौं- चलिमे जलविद्युत् कम्पनीले प्रवर्द्धन गरेका आयोजना समयमा सम्पन्न हुन नसक्दा लाभांश दिनसक्ने क्षमता लगातार घट्न थालेको छ।
२७० मेगावाट क्षमताका चारवटा आयोजनाको निर्माण कार्यमा ढिलाइ हुँदा कम्पनीको आम्दानी लक्ष्य भन्दा कम हुन थालेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा कम्पनीको नाफा ५ करोड ६५ लाख रुपैयाँले घटेको छ। कम्पनीले यसै अवधिमा ३९ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
गत वर्षको यहि अवधिमा ४५ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
रोयल्टीबापतको खर्च यसै अवधिमा ७ करोड ३५ लाख रुपैयाँबाट ८ करोड ३९ लाख रुपैयाँ पुगेकाे छ। कम्पनीले लगानी गरेका आयोजना निर्माण हुन अझ धेरै समय कुर्नु पर्ने छ।
कम्पनीले दोस्रो त्रैमासिक अवधिमा विद्युत् बिक्रीबाट ६१ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको हो। गत वर्षको यहि अवधिमा कम्पनीले ६२ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको थियो।
नाफामा गिरावटसँगै प्रतिशेयर आम्दानी पनि थप ५ रुपैयाँले घटेर १३ रुपैयाँमा झरेको छ।
.JPG)
पुँजी बढ्यो नाफा बढेन
नयाँ आयोजनाको नाममा १० वर्षमा कम्पनीको पुँजी बढ्यो तर नाफा बढ्न सकेन। कम्पनीको १० वर्ष अगाडि प्रतिशेयर आम्दानी १०२ रुपैयाँ थियो। जतिबेला चुक्ता पुँजी ८२ करोड रुपैयाँ थियो।
यसै अवधिमा कम्पनीको चुक्ता पुँजी बढेर ५ अर्ब ७० करोड रुपैयाँ पुगेको छ तर प्रतिशेयर आम्दानी १३ रुपैयाँमा झर्याे।
यससँगै कम्पनीको दोस्रो बजारमा शेयर मूल्य पनि धेरैले तल झरिसकेको छ। १० वर्ष अगाडि कम्पनीको नाफा ८४ करोड ५० लाख रुपैयाँ थियो। कम्पनीको नाफामा खासै सुधार छैन। तर, पुँजीमात्रै एकोहोरो बढ्दा कम्पनीको प्रस्तुती सबैभन्दा कमजोर हुँदै आएको छ।
कम्पनीले नयाँ आयोजना निर्माणको लागि स्रोत जुटाउन हरेक वर्ष बोनस शेयर दिँदै आएको छ। यस अवधिमा बढेको पुँजी सबै बोनस शेयरबाटै प्रदान गरेको हो।
सधै बोनस शेयर प्रदान गर्ने कम्पनीको दोस्रो बजारमा अधिकतम ३ हजार रुपैयाँभन्दा माथिको कारोबार भयो। तर, पछिल्लो समय कम्पनी शेयर मूल्य धेरै नै तल झरेको छ। यसको प्रमुख कारण पुँजी बढेअनुसार प्रतिशेयर आम्दानी नबढ्नु नै हो।
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।