काठमाडौं– उपभोक्ता ठगी मुद्दामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख रुपैयाँ जरिवाना तिराएपछि अनलाइन व्यापार कम्पनी दराज क्यामुले विभागको उक्त निर्णयविरुद्ध पुनरावलोकनका लागि निवेदन दिएको छ।
अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको भन्दै विभागले दराजलाई माघ २० गते ३ लाख रुपैयाँ जरिवाना गरेको थियो। तर विभागको उक्त निर्णय कानुनसम्मत नभएको भन्दै दराजले निर्णय पुनरावलोकनका लागि आइतबार निवेदन दिएको हो।
विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले दराज क्यामुले जरिवाना पुनरावलोकनको माग राख्दै निवेदन दिएको पुष्टि गरे। ‘लामो अध्ययनपछि विभागले दराजले अनुचित व्यापारिक क्रियाकलाप गरिरहेको पुष्टि गरेर कारबाही पनि गरेको हो। त्यसमा पुनरावलोकनका लागि निवेदन परेको छ। हामीले दर्ता गरेर आवश्यक प्रकृया अगाडि बढाएका छौं,’ महानिर्देशक सुवेदीले भने। निर्णय पुनरावलोकनका लागि निवेदन दिँदा जरिवानाको आधा रकम धरौटी राख्नुपर्ने कानुनी व्यवस्था बमोजिम १ लाख ५० हजार रुपैयाँ धरौटी राखेर दराजले निवेदन दिएको हो।
उपभोक्ता संरक्षण ऐनको दफा ३९ को उपदफा ५ मा विभागका निरीक्षण अधिकृतले गरेको कारबाहीउपर चित्त नबुझे महानिर्देशकसमक्ष पुनरावलोकनका लागि ७ दिनभित्र निवेदन दिन पाउने व्यवस्था छ। सोही व्यवस्थाअनुसार दराजले निवेदन दिएको हो।
दराजले आफ्नो व्यापार गैरकानुनी ढंगले गरिरहेको र उपभोक्तासमेत ठगिरहेको विषयमा विभागले अध्ययन गरेर त्यसको पुष्टि गरिसक्दा पनि दराजले भने विभागको उक्त निर्णयमाथि सार्वजनिक रुपमै आपत्ति जनाइरहेको छ।
३ लाख जरिवाना तिराउने विभागको निर्णयलाई दराजले बदनियतपूर्ण र आफूलाई जानाजान बदनाम गर्न खोजेको भन्दै प्रतिक्रिया जनाएको छ। दराजले बुधबार एक प्रेस वक्तव्य जारी गर्दै विभागको कारबाही एकपक्षीय, दुराशायपूर्ण, र अपारदर्शी रहेको जनाएको छ। त्यस्तै दराजले विभागले गरेको कारबाहीको प्रकृयामाथि पनि कानुनी रुपमा प्रश्न उठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।