काठमाडौंमा घडेरी किन्दै हुनुहुन्छ? यी हुन् सस्तोमा जग्गा पाइने ५ ठाउँ

निर्मला घिमिरे | २०७६ माघ २६ आइतबार | Sunday, February 09, 2020 ०७:५०:०० मा प्रकाशित

काठमाडौं- पछिल्लो समय काठमाडौंको चक्रपथ आसपासमा घर बनाउन चाहेमा घडेरी नै पाउन मुस्किल छ। पाइए पनि मूल्य छोइ सक्नु छैन।

चक्रपथ मात्रै होइन, सहरका अन्य स्थानका जग्गाको भाउसमेत आकासिएको छ। अहिले काठमाडौंमा सबैभन्दा सस्तो मूल्यको जग्गा पाउने भनेको प्रतिआना १० लाख। त्यो पनि बडो मुस्किलले पाइन्छ। 

प्रतिआना १० लाख पर्ने जग्गा पनि रिङरोडबाट १५ किलोमिटरभन्दा टाढाका स्थानमा मात्रै पाइने उपभोक्ताहरूले बताएका छन्। राजधानी आसपासमा सस्ता जग्गा पाइने केहीबारे हामीले एक सामग्री तयार पारेका छौ।  

रामकोट
रामकोटस्थित मूलबाटोमा जग्गाको भाउ निकै आकासिएको छ। बाटो नपुगेका स्थानमा भने कुनै कुनै जग्गा प्रतिआना १० लाखसम्म पनि पाइन्छन्।

सरकारले चालु आर्थिक वर्षमा तोकेको मूल्यअनुसार साविक डाडापौवा रामकोट गाविसमा सितापाइला भीमढुंगा मूल सडकको रामकोट खण्डमा प्रतिआना ९ लाख तोकेको छ। 

पक्की सडकको जग्गाको मूल्य प्रतिआना ६ लाख,  कच्ची सडकमा प्रतिआना ४ लाख, गोरेटो बाटोमा २ लाख ५० हजार र बाटो नभएको ठाउँमा १ लाख १५ हजार मूल्य निर्धारण सरकारले गरेको छ। 

भीमढुंगा
नागार्जुन नगरपालिकास्थित भीमढुंगामा पनि प्रतिआना १० लाख हाराहारीमा जग्गा पाइन्छ। अहिलेको अवस्थामा प्रतिआना १० लाख पर्ने जग्गा भनेको भीमढुंगा आसपासको सस्तो मूल्य नै हो।

काभ्रेस्थली
प्रतिआना १० लाख मूल्य पर्ने जग्गा किनबेच हुने काठमाडौंको अर्को स्थान हो, काभ्रेस्थली। काभ्रेस्थलीमा रिङरोडबाट केही पर प्रतिआना १० लाखले जग्गा पाइन्छ। 

दक्षिणकाली
काठमाडौंको दक्षिणकाली क्षेत्रमा  पनि प्रतिआना १० लाखको हाराहारीमा जग्गा पाइन्छ। 

तर सरकारले तोकेको जग्गाको मूल्यभन्दा यो कयौँ गुणा बढी हो। सरकारी मूल्यअनुसार दक्षिणकालीमा न्यूनतम प्रतिआना २५ हजारसम्म मात्र हो। यो बाटो नभएको ठाउँका लागि गरिएको मूल्यांकन हो।  

सरकारी मूल्यांकनअनुसार दक्षिणकालीमा सबैभन्दा बढी महंगो जग्गा भनेको दक्षिणकाली-फर्पिङ-कुलेखानी मूलसडकसँग जोडिएको जग्गा हो। यहाँको सरकारी मूल्यांकन प्रतिआना ४ लाख ५० हजार छ। 

साँखु
काठमाडौंको साँखुमा प्रतिआना १० लाख मूल्य पर्ने जग्गा पाउन सकिन्छ। साँखुस्थित ८ फिटको, १३ फिटको र २० फिट चौँडाइ भएको बाटो भएका जग्गा १० लाख प्रतिआनामा किनबेच भइरहेको छ। 

साँखुको कठन चोक, पुलुवाबारीलगायत स्थानमा १० लाख प्रतिआना जग्गा पाइन्छ। 'अहिले साँखुतिर चलेको भाउ नै १० लाख प्रतिआना छ।  त्यो भन्दा सस्तोमा जग्गा पाउनै मुस्किल छ,’ साँखुका स्थानीय कृष्ण महर्जनले भने। 

सरकारले मालपोत नियमावली-२०३६ को नियम ५ (ख) उपनियम ४ बमोजिम काठमाडौंका विभिन्न क्षेत्रका जग्गाको सरकारी मूल्य तोकेको हो। 

सो सरकारी मूल्यअनुसार न्यूनतम प्रतिआना २५ हजारदेखि अधिकतम ३५ लाखसम्मका जग्गा काठमाडौंमा छन्। तर सरकारले तोकेको मूल्यभन्दा कयौँ गुणा बढीमा जग्गा किनबेच भइरहेको छ।