काठमाडौं- भारतले नेपालबाट हुने पाम तेलको आयात खुला गरेको छ।
विदेशबाट पाम आयल भित्र्याउन प्रतिबन्ध लगाउने निर्णय गरेको एक महिनापछि भारतले शर्तसहित नेपालबाट पाम आयलको तेलको पैठारी खोलिदिएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अब नेपालबाट निर्यातका लागि दर्ता भएका एजेन्सीले मात्रै पाम तेल भारत पठाउन सक्नेछन्।
'निकासी प्रक्रियालाई व्यवस्थित बनाउन भारतले दर्ता भएका निर्यातकर्ताबाट मात्रै भेल भित्र्याउने सहमति दिएको छ,' मन्त्रालय स्रोतले भन्यो।
भारतले पुस २४ गते सूचना प्रकाशित गर्दै प्रशोधित पाम तेलको आयातमा प्रतिबन्ध (रेस्ट्रिक्सन) लगाउने घोषणा गरेको थियो।
यो निर्णयपछि नेपालको सबैभन्दा ठूलो निर्यातजन्य वस्तुको निकासी बन्द भएको थियो।
वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकालले भारतबाट सकारात्मक जवाफ प्राप्त भएको उल्लेख गरे।
'विस्तृत मैले हेरेको छैन, भारतबाट हामीले पाम तेलको निकासीका सम्बन्धमा सकारात्मक जवाफ पाएका छौँ,' उनले भने।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालबाट भारतमा १३ अर्ब ९२ करोड रुपैयाँको पाम तेल निकासी भएको छ।
नेपालले चालु वर्षमा गरेको सबैभन्दा ठूलो निर्यात नै पाम तेल हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।