काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपालले संगठनका जिम्मेवार पदाधिकारी तथा कार्यकर्तामाथि लगाइएको मुद्दा १५ दिनभित्र फिर्ता लिन आग्रह गरेको छ। पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको राजपा अध्यक्ष मण्डलको बैठकले पार्टीका पदाधिकारी, सदस्य र कार्यकर्तामाथि लगाइएको मुद्दा १५ दिनभित्र फिर्ता लिन सम्बद्ध सबैलाई आग्रह गर्ने निर्णय गरेको छ ।
भोलि सिंहदरबारमा बस्ने संसदीय दलको बैठकमा दलको विधान, नियमावली, लेबीको विषयमा छलफल गर्ने पनि बैठकले निर्णय गरेको छ। त्यस्तै, प्रदेशसभा संसदीय दलको बैठक डाकेर प्रदेशसभा संसदीय दलको विधान, नियमावली र लेबीको विषयमा निर्णय लिन पनि प्रदेशसभा संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ। आजको बैठकले बैसाख ८ गते पार्टीको राजनीतिक समितिको बैठक बस्ने निर्णय समेत गरेको छ । बैठकले पार्टीको विधान नियमावली, निर्देशिका लगायत पार्टी महाधिवेशन सम्पन्न गर्न आवश्यक कागजातहरु तयारी गरी बैसाख ६ गते अध्यक्ष मण्डलमा पेश गर्ने निर्णय पनि गरेको छ। बैठकले राजपा नेपालको एकता दिवसलाई स्थापना दिवस मानेर दोस्रो पार्टी स्थापना दिवस बैसाख ७ गते काठमाडौं र पार्टी संगठन भएका सबै जिल्लामा गर्ने निर्णय पनि गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।