काठमाडौं- एनएमबी बैंकले साना उद्योगीलाई प्रोत्साहन गर्ने उद्देश्यले सहुलियत कर्जा दिने भएको छ। बैंकले नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ नेपाल तथा नेपाल उद्यमशिल महिला महासंघसँग कर्जा प्रवाहको समझदारीपत्रमा हस्ताक्षर गरेको हो।
समझदारीपत्रमा हस्ताक्षर गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले परम्परागत बैंकिङभन्दा पृथक भएर मुलुकको अर्थतन्त्रमा सहयोग गरेको बताए। 'आफ्नै स्रोत र साधनलई परिचालन गरी साना तथा मझौला कर्जा, कृषि कर्जा, जलस्रोत कर्जा, उद्यमशीलता विकास प्रवर्द्धन गर्न सहुलीयतपूर्ण कर्जामा विशेष जोड दिँदै आएका छौँ, यही प्रयासको निरन्तरामा यी संघबीच समझदारी भएको हो,’ उनले भने ।
बैंकका अध्यक्ष पवन गोल्यानले आन्तरिक उत्पादन तथा रोजगारी सिर्जनालाई प्रवर्द्धन गर्दै निर्यात क्षमतालाई अभिवृद्धि गर्न बैंकले काम गरिरहेको बताए।
मुलुकमा अहिले १ अर्ब रुपैयाँ बराबरको अल्लोको बजार रहेकोमा आगामी दिनमा ५ अर्ब रुपैयाँको बनाउनु पर्ने उद्यमीहरुले बताएका थिए। बैंकले यस योजना अन्तर्गत १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।