काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकको साधारणसभाले १२ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ। शुक्रबार सम्पन्न बैंकको साधारणसभाले चुक्ता पुँजीको १२ प्रतिशत अर्थात १ अर्ब ८ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो।
वाणिज्य बैंक सञ्चलक समितिको बैठकले शुक्रबार लाभांश स्वीकृत गरे पनि यो रकम भने पुस २९ गते नै सरकारको खातामा दाखिला भैसकेको छ। अर्थ मन्त्रालयले पुस महिनाको राजस्व लक्ष्य पुरा गर्न वाणिज्य बैंकको साधारणसभाले स्वीकृत गर्नुअघि नै पैसा दाखिला गर्न लगाएको थियो।
बैंकको ९९.९७ प्रतिशत शेयर नेपाल सरकारसँग छ। बाँकी ०.०३ प्रतिशत सर्वसाधारणसँग छ। यसअनुसार १ अर्ब ७ करोड रुपैयाँभन्दा धेरै रकम सरकारले पाएको छ भने बाँकी रकम सर्वसाधारणले पाउनेछन्। एनआइडिसी डेभलपमेन्ट बैंक वाणिज्य बैंकसँग मर्ज हुँदा उसका सर्वसाधारण शेयरधनी पनि वाणिज्यमा सरेका थिए।
यसैगरी साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षणका लागि महालेखापरीक्षकको कार्यालयको सिफारिसअनुसार दुईजना लेखापरीक्षक नियुक्तिको निर्णय पनि गरेको छ। यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र नाफा नोक्सान हिसाब पनि साधारणसभाले स्वीकृत गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।