काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले नियमनसहितको डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्। नेपाल व्यवस्थापन संघको ३९ औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री खतिवडाले डिजिटल कारोबार अहिलेको आवश्यकता भएको भन्दै त्यसको नियमन भने जरुरी रहेको बताए।
मन्त्री खतिवडाले अबको समयमा प्रविधिको ज्ञान नहुने मानिसहरुको अर्थ नै नहुने पनि उल्लेख गरे। 'नयाँ प्रविधि पछ्याउन नसक्नेहरु विस्तारै फेज आउट हुन्छन्,' उनले भने।
सरकारी कारोबारलाई प्राविधिमैत्री बनाउने गरी काम अघि बढाइएको पनि मन्त्री खतिवडाले बताए। 'मानिसहरु घरमा बसेर कर तिर्न चाहन्छन्, उनीहरुलाई सहज बनाउनका लागि हामी प्रविधिमैत्री कर प्रशासन बनाउँदैछौँ,' उनले भने, 'सरकारले डिजिटल नेपाल फ्रेमवर्कको अवधारणा अघि बढाएको छ, त्यसलाई हामी कार्यान्वयनको चरणमा छौँ।'
नयाँ नेतृत्व चयन हुँदै
म्यानको यो सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ। राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका इन्जिनियर सुशील भट्ट नेतृत्वको वर्तमान कार्यसमितिको म्याद सकिएको छ। उसका लागि शुक्रबार नै मतदान हुनेछ।
अर्थमन्त्री खतिवडा पनि म्यानको दुईपटक अध्यक्ष भैसकेका छन्। मन्त्री खतिवडा आफू भोट हाल्न आउनुपर्ने भएकाले अहिले अर्को कार्यक्रममा जानुछ भन्दै त्यहाँबाट निस्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।