काठमाडौं– नेपाल वायुसेवा निगमको व्यवस्थापनले ‘नेपाल वायुसेवा निगमको कर्मचारीहरुको सेवा सर्तसम्बन्धी विनियमावली, २०५८’ लाई संशोधन गरेर करारमा नियुक्ति भएका एयर होस्टेसको उमेर हद बढाउने चलखेल सुरु गरेको छ।
मानव संसाधन विभागको अगुवाईमा केही निर्देशकहरुले करारमा नियुक्ति भएको एयरहोस्टेसको उमेद हद बढाउने तयारी गरेका छन्। तर उनीहरुले उमेर बढाउन सर्तको रुपमा एयरहोस्टेसहरुसँग प्रतिव्यक्ति डेढ लाख रुपैंयासम्म पैसा मागेको स्रोतले जानकारी दियो।
'उमेर हद बढ्नु फाइदा हो,’ एक एयरहोस्टेसले भनिन्, ‘तर, हामीसँग केही आर्थिक सहयोग चाहिन्छ भनेर डेढ लाखसम्म मागिएको छ।’
स्रोतका अनुसार माथिल्लो तहका कर्मचारीले तपाईहरुको उमेर हद बढाउने गरी विनियमावली संशोधनको प्रस्ताव हामी सञ्चलाक बोर्डमा लैजान्छौं, १० वर्षको उमेर हद बढ्दा १ करोड ५० लाखदेखि २ करोडसम्म आर्थिक लाभ हुन्छ भन्दै एयरहोस्टेसँग रकम मागेका हुन्।
नेपाल वायुसेवा निगमले पछिल्लो समय एयरहोस्टेस करारमा मात्रै नियुक्ति गर्ने गरेको छ। अहिले नेपाल एयरलाइन्समा १ सय ४० को संख्यामा करारमा सेवा गरिरहेका एयरहोस्टेस छन्। स्थायी एयरहोस्टेसको संख्या १५ हाराहारीमा मात्रै छ।
निगमको विनियमावलीमा नै एयर होस्टेस करारमा मात्रै नियुक्ति गर्ने भनेर स्पष्ट रुपमा लेखिएको छ। सोही आधारमा करारमा नियुक्त भएका एयरहोस्टेससँग आर्थिक लाभ लिँदै उमेद हद बढाउने खेल सुरु भएको स्रोतको दाबी छ।
‘नेपाल वायुसेवा निगमको कर्मचारीहरुको सेवा सर्तसम्बन्धी विनियमावली, २०५८ को विनियम २४ को (क) मा विमान परिचारक र विमान परिचारिकाको नियुक्तिसम्बन्धी विशेष व्यवस्था गरिएको छ। विनियम २४ (क) को १ मा एयरहोस्टेस नियुक्तिको विषयमा ‘विनियमावलीमा अन्यत्र जनुसुकै कुरा लेखिएको भएतापनि विमान परिचारक र विमान परिचारिकाको नियुक्ति करारमा मात्रै गरिने’ लेखिएको छ।
.JPG)
यसैगरी विनियममा एक पटकमा करारमा नियुक्ति भएको एयरहोस्टेसको समय थप गर्दा पाँच वर्षको भन्दा बढी नहुने समेत उल्लेख छ। साथै तोकिए बमोजिमको शारिरीक बनावट तथा स्वास्थ्य स्तर पाइएमा त्यस्ता विमान परिचारक तथा विमान परिचारिकाको हकमा भने ४० वर्षपछि अरु ५ वर्षसम्म विमान परिचारक-विमान परिचारिकाको रुपमा कार्य गराउन सकिनेछ। उक्त ५ वर्षको समयमा पनि पनि प्रत्येक वर्ष अनिवार्य रुपमा नियुक्ति नवीकरण गर्नुपर्नेछ।
यही बुँदालाई संशोधन गरेर अहिले ५५ वर्ष पूर्याउने खेल सुरु भएको हो।
विनियमावली संशोधनको आधिकार सञ्चालक समितिमा छ। यस विषयमा सञ्चालक समिति सदस्य अच्युत पहाडीलाई सोध्दा उनले यस्तो प्रस्ताव बोर्डमा नआइसकेको बताए। प्रस्ताव निगम व्यवस्थमापनले बोर्डमा ल्याएको खण्डमा अध्ययन गरेर निर्णय गर्ने उनको भनाइ छ।
विनियमावली अन्तिपटक २०७१ असारमा संशोधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।