काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ७० प्रतिशत प्रगति गरेको दाबी गरेको छ।
मन्त्री रामेश्वर राय यादवको अध्यक्षतामा बुधबार मन्त्रालयले चालु आव २०७६/०७७ को अर्धवार्षिक समीक्षा गर्दै यस्तो दाबी गरेको हो।
उक्त समीक्षाबाट ७० दशमलव ५ प्रतिशत प्रगति भएको र २९ प्रतिशत कामसमेत सुरु भई प्रक्रियाका क्रममा रहेको दाबी मन्त्रालयको छ। बाँकी शून्य दशमलव ७ प्रतिशत काम भने सुरु हुन नसकेको बताइएको छ।
मन्त्रालयका महाशाखा प्रमुखहरू र अन्तर्गतका निकायका महानिर्देशक तथा कार्यकारी निर्देशकहरुले अर्धवार्षिक प्रगतिको प्रस्तुती गरेका थिए।
मन्त्रालयको चरणबद्ध उपलब्धिका लागि राखेको लक्ष्यअनुसार नै प्रगति भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले लिएको लक्ष्यमध्ये २८ दशमलव ८ प्रतिशत प्रगतिको क्रममा रहेको र शून्य दशमलव ७ प्रतिशत कार्यक्रम मात्र सुरु हुन नसकेको मन्त्रालयको भनाइ छ।
समीक्षा कार्यक्रममा मन्त्रालयले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेट सम्बन्धमा छलफल गरेको थियो।
विनियोजित कार्यक्रमको हरेक शीर्षकमा भएको कार्य प्रगतिको अवस्था, कार्यान्वयन हुन नसकेका कारण र लक्ष्य हासिल गर्न चाल्नुपर्ने पहलकदमी सम्बन्धमा छलफल भएको थियो।
कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपाल सरकारको नीति बमोजिम आन्तरिक रोजगारी प्रवर्द्धन हुने गरी रोजगारीका क्षेत्र र सम्भावना खोजी गर्ने बताए।
सीपमूलक तालिमलाई थप प्रभावकारी बनाउन सके आन्तरिक तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउन सकिने मन्त्री यादवको भनाइ छ। मन्त्री यादवले भने, ‘मन्त्रालयको कार्यक्रमलाई नतिजामुखी बनाउन सबै निकायबीच समन्वय र सहकार्य आबश्यक छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।