काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले थप १३ नयाँ विमानस्थल निर्माणको प्रस्ताव अगाडि सारेको छ। देशभर अहिले ५४ वटा साना-ठूला विमानस्थल निर्माण भइसकेका छन्। जसमध्ये २२ विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन्।
प्राधिकरणले एसियाकै ट्रान्जिट हबको रुपमा निजगढ अन्तर्राष्ट्रियसँगै १३ नयाँ विमानस्थल निर्माणको प्रस्ताव अगाडि सारेको छ।
प्राधिकरणले दाङ नारायणपुर विमानस्थल, धनकुटा, धरान, गुदेल (सोलुखुम्बु), मदनाखोला (हुम्ला), पाँचथर,प्युठान, चुनडाँडा (तेह्रथुम), उद्यपुर, बाग्लुङ, काभ्रे र चराङ (मुस्ताङ) मा नयाँ विमानस्थल बनाउने विषयमा अध्ययन गरिरहेको छ।
प्राधिकरणले अहिले निर्माण सम्पन्न भए पनि सञ्चालनमा नरहेका विमानस्थलको संख्या २२ वटा रहेको जनाएको छ। जसमा टिकापुर, स्याङबोचे, रोल्पा, पालुङटार,मेघौली, मनाङ, महेन्द्रनगर, लाङटाङ, खिजी चन्डेश्वरी, खनियाँडाडा, कमला बजार,कालिकोट, जिरी, इलाम, गुल्मी डोटी,डोल्पा, ढोरपाटन, दार्चुला, बजाङ, बैतडी र बागलुङ बलेवा विमानस्थल अहिले सञ्चालनमा छैनन्। यसबाहेक ३२ विमानस्थल भने सञ्चालनमा छन्।
५४ वटा विमानस्थलमध्ये ३५ विमानस्थलको रन-वे भने कालोपत्रे भइसकेको प्राधिकरणले जनाएको छ। यसैगरी चालु आवमै ८ विमानस्थलको रन-वे ओभरलेको काम पनि सम्पन्न भइसकेको प्राधिकरण महानिर्देशक राजन पोखरेलले जानकारी दिए। जसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन-वे पीच परिर्वतनको काम पनि सम्पन्न भइसकेको छ। यसबाहेक भद्रपुर,विराटनगर, भरतपुर, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलको पनि रन- तथा ट्याक्सी वेको ओभरलको काम सकिइसकेको छ।
यसैगरी प्राधिकरणले अहिले ८ वटा विमानस्थलमा रात्रिकालीन सेवासमेत सुरु गरेको छ। प्राधिकरणका अनुसार भद्रपुर, विराटनगर, सिमरा, जनकपुर,भैरहवा, नेपालगञ्ज, धनगढी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण रुपमा रात्रिकालीन उडान सेवा सुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।