काठमाडौं- प्राइम बैंकले अहिलेसम्मके उच्च ब्याजदरमा साढे तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले १०.५ प्रतिशत ब्याजमा ऋणपत्र निष्काशन गर्न आरविवि मर्चेन्टसँग सम्झौता गरेको छ।
८ वर्ष अवधिको उक्त ऋणपत्र सर्वसाधारणका लागि ४० प्रतिशत निष्काशन हुनेछ। बैंकले २ अर्ब १० करोड आफैंले बिक्री गर्नेछ भने बाँकी एक अर्ब ४० करोड सर्वसाधारणका लागि निष्काशन गर्ने छ।
यस अगाडि सबैभन्दा धेरै कृषि विकास बैंकले १०.३५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गरेको थियाे। बजारमा ऋणपत्र बिक्री हुन नसके पछि बैंकहरुले ब्याजदर बढाउन थालेका छन्।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सम्पूर्ण वाणिज्य बैंकहरुलाई चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य निष्काशन गर्नुपर्ने व्यवस्था गरेको छ। यसै निर्देशनपछि पछिल्लो समय वाणिज्य बैंकहरुले ऋणपत्र निष्काशन गरिरहेका छन्।
ऋणपत्र निष्काशनका लागि बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर र आरविविका प्रमुख कार्यकारी अधिकृत बन्द्रिप्रसाद प्याकुरेलबीच सम्झौता भएको हो। बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ६८ करोड रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।