काठमाडौं- भूकम्पबाट भत्किएकामध्ये ८६ हजार निजी आवास पुनर्निर्माणका लागि विश्व बैंकले नेपाललाई २२ अर्ब ८२ करोड रुपैयाँ (२० करोड अमेरिकी डलर) ऋण दिने भएको छ। यो ऋण सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र विश्व बैंकका नेपाल स्थित कन्ट्री म्यानेजर फारिस एच हदाद जेर्भसले हस्ताक्षर गरेका छन्।
भूकम्पपछिको पुनर्निर्माणका लागि उपलब्ध गराउनुपर्ने रकमको अभाव भएपछि सरकारले दातृ निकायसँग स्रोतका लागि अनुरोध गरेको थियो। त्यसैअनुसार विश्व बैंकले थप सहयोग उपलब्ध गराएको हो। विश्व बैंकबाट लिइएको यो ऋण सरकारले ३२ जिल्लाका ८६ हजार ६८० घरको पुनर्निर्माणमा प्रयोग गर्नेछ।
विश्व बैंकले नेपाललाई यसअघि दुई पटक पुनर्निर्माणका लागि ऋण दिइसकेको छ। सन् २०१५ मा पहिलो पटक २०० मिलियन र २०१७ मा दोस्रोपटक ३०० मिलियन डलर ऋण नेपाललाई दिइएको विश्व बैंकले जनाएको छ।
भूकम्पबाट नेपालका १४ जिल्ला अति प्रभावित भएका थिए भने बाँकीमा पनि प्रभाव देखिएको थियो। सरकारले भूकम्प पीडितलाई निजी घर पुनर्निमार्णका लागि ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराइरहेको छ।
अहिले अति प्रभावित १४ जिल्लासँगै अन्य जिल्लामा ६ लाखको हाराहारीमा घर पुनर्निर्माण भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।