काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेपकर्ताको रुपमा सञ्चालन हुन थालेको छ। पुर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापित इफ्रास्ट्रक्चरले अहिलेसम्म जम्मा ५८ करोड २६ लाख रुपैयाँ मात्रै कर्जा लगानी गर्न सकेको छ।
जबकि यसले अन्य बैंक तथा वित्तीय संस्थाहरुमा ११ अर्ब ३७ करोड रुपैयाँ निक्षेप प्रदान गरेको छ। गत असोज मसान्तमा इन्फ्रास्ट्रक्चरले अन्य बैंक तथा वित्तीय संस्थामा ७ अर्ब ३८ करोड रुपैयाँ निक्षेप प्रदान गरेको थियो।
बैंक तथा वित्तीय संस्थामा पैसा जम्मा गरेर इन्फ्रास्ट्रक्चरले ४० करोड २७ लाख रुपैयाँ नाफा गरेको छ। तीन महिनाअगाडि बैंकले २० करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। त्यसको तुलनामा बैंकले खुद व्याज आम्दानी दोब्बरले बढाएर ६१ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ।
बैंकले शेयरमा १२ करोड ३८ लाख रुपैयाँ लगानी गरेको छ। चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको बैंकले ८ अर्ब रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरेको छ। यससँगै बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्ने छ।
ठूला पुर्वाधार क्षेत्रमा कर्जा लगानी गर्ने उद्देश्ले स्थापित बैंकले अहिलेसम्म राम्रा आयोजना पाउन सकेको छैन। केही आयोजनामा कर्जा लगानी गर्ने प्रतिवद्धता व्यक्त भए पनि ती क्षेत्रमा कर्जा प्रवाह हुन अझै केही समय लाग्नेछ। यसले गर्दा बैंक अन्य बैंकमा पैसा राख्न वाध्य छ।
बैंकले स्वदेशमै निक्षेप संकलन गर्न पाउदैन। तर निक्षेप संकलनका लागि राष्ट्र बैंक र अर्थमन्त्रालयसँग लबिइङ गरिरहेको छ। बैंकले स्वेदश तथा विदेशमा ऋणपत्र जारी गरेर पैसा भित्र्याउन सक्ने छ। यसैअनुसार विदेशी बजारमा ५ अर्ब रुपैयाँ बराबरको अफसोर बण्ड जारी गर्ने तयारी गरेको छ। बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।