काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा भएको भनिएको आर्थिक अनियमिततामा आयोजनाका तत्कालीन निर्देशक योगेन्द्र कुमार कार्की संलग्न रहेको देखिएको छ।
हाल बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव कार्कीको सो घोटालामा संलग्नता रहेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले उल्लेख गरेको छ। सहसचिव कार्की यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको योजना महाशाखा प्रमुखको भुमिका थिए।
राष्ट्रिय सतर्कता केन्द्रले बुधबार आफ्नो १७औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै प्याक्ट अनियमितता काण्डमा कार्कीको संलग्नता रहेको विषय सार्वजनिक गरेको हो। कार्की प्याक्टको निर्देशकका रुपमा कार्यरत रहँदा र मन्त्रालयको जिम्मेवारीमा रहँदा पनि विभिन्न विषयमा अनियमितता गरेको सतर्कता केन्द्रको प्रतिवेदनमा उल्लेख छ।
सतर्कता केन्द्रको गत असार १७ गतेको निर्णय अनुसार कार्कीलाई कारबाहीको माग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाएको र सो अनियमितता प्रकरणको अध्ययनसम्बन्धी सम्पूर्ण सक्कल फाइलसमेत अख्तियारलाई जिम्मा लगाएको प्रतिवेदनमा खुलाइएको छ।
.jpg)
सन् २००९ नोभेम्बरदेखि सुरु भएर सन् २०१८ जुनमा सकिएको यो आयोजना दातृ निकाय विश्व बैंकको ८१ दशमलव ८५ मिलियन अमेरिकी डलर सहयोगमा साबिकको ७५ वटै जिल्लामा लागू भएको थियो। ८ करोड १८ लाख ५० हजार अमेरिकी डलर अर्थात् करिब १० अर्ब रुपैयाँ बराबरको आयोजनाले कृषकका लागि अनुदान दिने नाममा भष्ट्राचार भएको भन्दै व्यापक आलोचना भएको थियो।
अख्तियारले उक्त मुद्दाका बारेमा अध्ययन गरिरहेको भएपनि अन्तिम टुंगो भने अझै लगाउन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।