काठमाडौं- २०७६ भदौ ५ गते। बिहानै भोजपुर हतुवागढी गाउँपालिकाका २६ वर्षीय नविन राईले श्रीमती बबिता राईलाई फोन गरेका थिए।
‘१० बजे मेरो फ्लाईट छ, म साउदी पुगेपछि फेरि फोन गर्छु है‚’ नविनले फोनमा भनेका थिए।
त्यसयता नविनले बबितालाई न फोन गरे न कुनै खबर।
‘५ महिना बितिसक्यो, साउदी जानुभयो कि कता जानुभयो। केही पत्तो छैन‚’ गहभरी आँसु पार्दै बबिताले सुनाइन्।
नविनको राहदानी नम्बर (०६१२६४८८) मा हेर्दा पनि उनले पुनः श्रम स्वीकृति लिएर कतै उडेको देखिँदैन।
यस अघि सन् २०१३ मा कतार तथा २०१६ मा नविन साउदी पुगेर फर्किएका थिए।
केही समय घरमा बसेपछि पुनः साउदी जाने भन्दै उनी धरानबाट गत वैशाखमा काठमाडौं आएका थिए।
भिसाको टुंगो नभएपछि उनी दाइभाउजुसँग काठमाडौंमै बस्थे। नविन र बबिताको राम्रो कुराकानी भइरहेको थियो।
जानुभन्दा केही दिन अगाडि साउदी जान १ लाख लाग्ने भएकाले त्यो रकम पनि धरानबाट बबिताले नै पठाइदिएकी थिइन्।
नविनकी भाउजुका अनुसार उनी साउदीको फ्लाईट छ भनेर भदौ ५ गते निस्किएका थिए। त्यसयता उनी कसैसँग सम्पर्कमा छैनन्।
‘दलालले अवैधानिक बाटो हुँदै अरु कुनै देशमा पुर्याएर अलपत्र पार्यो कि, कसले के गर्यो त्यसरी बेखबर त नहुनुपर्ने, कहाँ हुनुहुन्छ होला?’ त्रासको भावमा बबिता प्रश्न गर्छिन्।
मोबाइलमा भएको फोटो देखाउँदै बबिताले भनिन्, ‘कसैले देख्नुभयो भने खबर गरिदिनु होला। कतै बसेर यो समाचार पढ्दै हुनुहुन्छ भने छोरा र मलाई सम्झेर छिट्टै फर्किनुस् है।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।