काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले चैत्र ६ गतेदेखि १० गतेसम्म नवौं अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ। उक्त व्यापार मेला काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन हुने महासंघले जनाएको छ।
मेलामा ९ वटा देशहरुले ३०० सयभन्दा धेरै स्टलहरु राख्नेछन्। मेलामा चीनबाट ८०, भारतबाट ४०, बंगलादेशबाट ६०, थाइल्याण्डबाट २० तथा पाकिस्तानबाट ५ वटा स्टल बुकिङ भइसकेको महासंघले जनाएको छ।
महासंघले सार्क राष्ट्रबाहेक अन्य राष्ट्रहरुलाई पनि समावेश गर्नका लागि सम्बन्धित देशका दुतावसमा पत्राचार गरिसकेको छ। मेलामा हस्तकलाका उत्पादनहरु, कृषि उत्पादन, पर्यटन, सूचना तथा प्रविधि, उर्जा, भवन तथा निर्माण, शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु रहने छन्।
महासंघले विगत ९ वर्षदेखि यस्तो मेला आयोजना गर्दै आएको छ। सुरुवाती अवस्थामा २ सयवटा स्टल रहेकोमा अहिले तीन सयभन्दा बढि स्टल रहनेछन्। त्यस्तै सुरुवातमा दुईवटा राष्ट्रमात्रै सहभागी भएकोमा यस वर्ष ९ वटा पुगेको महासंघले जानकारी दिएको छ।
यसका साथै महासंघले ७७ वटै जिल्लालाई मेलामा समावेश गर्नेछ।
राष्ट्रिय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो आयोजना हुँदै आएको छ। स्टलबाट थोक तथा खुद्रा बिक्री गरिनेछ। व्यवसायीहरुले खुद्रा भन्दा थोक बिक्रीकलाई बढि प्राथमिकता दिने गरेका छन्। यस मेलाले नेपालको उत्पादन विशेमा प्रवर्द्धन गर्न सहयोग पुर्याउने महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।