काठमाडौं– वैदेशिक रोजगार विभागका महानिर्देशकमा कुमार दाहाल नियुक्त हुने भएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार दाहाललाई महानिर्देशकका रुपमा नियुक्ति गर्ने प्रकृया अन्तिम चरणमा पुगेको छ।
आफूलाई श्रम मन्त्रालयमा सरुवा गरिएको तर महानिर्देशकका रुपमा नियुक्ति भने पाइनसकेको दाहालले नेपाल लाइभलाई बताए।
दाहाल यसअघि यातायात व्यवस्था विभागका महानिर्देशक थिए।
वैदेशिक रोजगार विभागका महानिर्देशकका रुपमा रहेका डा भीष्मकुमार भुसालको सरकारले अख्तियारमा सरुवा गरेको छ।
डा भुसालले आफ्नो १० महिनाको कार्यकालमा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित तथा मर्यादित बनाउन सक्दो पहल गरेको बताए।
‘स्रोत साधनले भ्याएसम्म काम गरेको छु। मैले जति अनुभव बटुलेको छु। ‘विभागमा अब महानिर्देशक बनेर जो आउनुहुन्छ उहाँसँग आफ्नो अनुभव साट्नेछु‚’ डा भुसालले भने।
अब आउने नेतृत्वले विभागमा आफूले बनाउन सुरु गरेको गोरेटोलाई राजमार्ग खडा गर्ने विश्वास डा भुसालले व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।