काठमाडौं- मूल्यमा चर्को बार्गेनिङ हुँदा बुधबार दोस्रो बजारमा कारोबार रकम बटेको छ।
बेच्न चाहने लगानीकर्ताले घटाएर बेच्न नखोज्ने र खरिद गर्नेले घटाएर किन्न खोज्दा बुधबार कारोबार रकम एक अर्ब ८ करोड रुपैयाँमै सिमित भएको छ।
लगानीकर्ताबीच एकदुई रुपैयाँको बार्गेनिङ देखिन्छ।
केही दिनयता लगातार बढेको बजार मंगलबार १२ अंकले करेक्सन भएर बन्द भएको छ।
करेक्सनसँगै हच्किएका लगानीकर्ता हौसिएर महंगोमा सेयर किन्ने मुडमा छैनन्।
चर्को बार्गेनिङले कारोबार रकम घट्दै गइरहेको छ।
गत साताका केही दिनमा एकै दिन दुई अर्बभन्दा माथिको कारोबार भएको थियो।
विगत दुई वर्षमा बजार सुधार भएका बेला हौसिएर लगानी गर्ने अनि केही घट्ने बित्तिकै आत्तिएर बेच्ने ट्रेन्ड थियो।
तर यस पटक सकेसम्म घटेर बेच्न नखोज्ने प्रवृत्तिले बजारलाई धेरै करेक्सन हुनबाट रोकिरहेको छ।
आत्तिएर बेच्नुभन्दा केही दिन कुर्दा बढ्छ भन्ने मनोविज्ञानले पनि बजार घट्नबाट रोकिएको छ।
बुधबार अधिकांश समय बजार रातो देखिएको थियो। तर अन्तिम समयमा बजार सुधार हुँदा ५.३१ अंकले बढ्यो। सूचकमा सुधार देखिए पनि कारोबार रकममा भने सुधार देखिएन।
सबैभन्दा कमजोर वाणिज्य बैक सिभिलको सेयर सबैभन्दा धेरै १३ करोड दुई लाख रुपैयाँको कारोबार भएको छ।
बैंक राम्रै बैंकसँग मर्ज हुने हल्लाले बुधबार मात्रै ८ प्रतिशत सुधार देखिएको छ।
बुधबार सिभिल बैंक हिमालयन बैंक, सेञ्चुरी बैंक, सिटिजन बैंक लगायतका नाम जोडेर हल्ला फैलाइएको छ।
बैंकले धेरै पटक मर्जरमा जाने भन्दै सार्वजनिक रुपमै अभिव्यक्ति दिँदै आए पनि कुन सँग मर्ज हुने अहिलेसम्म टुङ्गो लागेको छैन।
तर बजारका खेलाडीहरूले शेयरको मूल्यमा चलखेल गर्न यस्ता हल्ला फैलाउदै आएका छन्।
बुधबार सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्य बढ्ने क्रममा सर्किट लागेको छ।
विकास बैंक हाइड्रोपावर उत्पादन तथा प्रसोधन र म्युचुअल फण्डको सूचकमा गिरावट देखिए पनि अन्य सूचक भने बढेका छन्।
समग्र शेयर बजार ५.३१ अंकले सुधार भएर १३४२.३६ बिन्दुमा रोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।