काठमाडौं- अर्थसचिव डा राजन खनालको अवकाशसँगै स्वाभाविक प्रश्न उठ्नुपर्ने हो, अबको अर्थसचिव को? तर यसपटक परिस्थिति अलि फरक छ। अर्थात् अर्थसचिवको कुर्सीले कसलाई पर्खिरहेको छ यसपटक निश्चित जस्तै छ।
गत वर्षको मंसिरमा शिशरकुमार ढुंगाना अर्थ मन्त्रालबाट बाहिरिएसँगै खनालको उत्तराधीकारी को हुन्छ भन्ने प्रश्न धेरैमा थियो। ढुंगाना फर्कनुअघि अर्थसचिवको 'म्युजिकल चेयर' कसले जित्छ टुंगो थिएन। सचिवहरुबीच अर्थसचिव बन्ने प्रतिस्पर्धा नै रहेको धेरैको आँकलन थियो। तर ढुंगानाको 'कमब्याक'सँगै उनले सबैलाई उछिने।
तर एक वर्ष नबित्तै राजस्व सचिवको कुर्सीमा फर्किएका ढुंगाना नै भावी अर्थसचिव बन्ने निश्चित देखिएसँगै चर्चा सुरु भएको छ, अबको राजस्व सचिव को?
ढुंगाना २०७३ माघ २० गते सचिव बढुवा भएका हुन्। उनी २०७८ माघ १९ गतेसम्म सचिव पदमा कार्यरत रहनेछन्। हत्तपत्त अर्थसचिव नचलाउने पुरानो परम्परा पछ्याउने हो भने उनी अबको २ वर्ष अर्थसचिव रहनेछन्।
अहिले निजामती प्रशासनमा राजस्व सचिवमा ढुंगानाको उत्तराधीकारीबारे चर्चा हुन थालेको छ। धेरैको धेरैथरी अनुमान छ।
राजस्व सचिवको दाबेदारीमा अगाडि देखिन सक्छन्, बागमती प्रदेशका प्रमुख सचिव तोयम राया। अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख हुँदा सचिव बढुववा भएका उनी त्यसअघि भन्सार विभागको महानिर्देशक भए। राजस्व समूहबाट हुर्किएका उनलाई अर्थमन्त्री डा युवराज खतिवडाले नै भन्सारको महानिर्देशक बनाएका थिए।
अर्थमन्त्री बनेसँगै खतिवडाले राजस्व प्रशासनमा सबैभन्दा पहिले राया र अर्का सहसचिव धनिराम शर्मालाई भित्र्याएका थिए। शर्मालाई ठूला करदाता कार्यालयको प्रमुख र रायालाई भन्सारको महानिर्देशक बनाइएको थियो। यही कारणले रायालाई भावी राजस्व सचिवको रुपमा धेरैले आँकलन गरेका छन्।
राजस्व सचिवका अर्का दाबेदार हुन् रामशरण पुडासैनी। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख पुडासैनी २०५४ सालमा लेखाबाट राजस्व समूहमा प्रवेश गरेका अधिकृत हुन्।
अर्थ मन्त्रालयको संरचनाभित्र बलियो पकड राख्ने पुडासैनीलाई यही सरकारले एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक बनाएको थियो। पूर्वमुख्यसचिव सोमला सुवेदीलाई २ वर्षे कार्यकाल पुरा हुन नदिँदै फिर्ता बोलाएर सरकारले उनको ठाउँमा पुडासैनीलाई पठाएको थियो।
पुडासैनीले अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाको प्रमुख भएर तीनपटक काम गरे। तत्कालीन् अर्थमन्त्री विष्णु पौडेलको पालामा उनलाई बजेटको प्रमुख बनाइएको थियो। यसैगरी एसियाली विकास बैंक जानुअघि र फर्किएपछि पनि पुडासैनीले यही जिम्मेवारी पाएका थिए।
पछिल्ला वर्षमा खर्च र योजनामा धेरै काम गरे पनि पुडासैनीसँग नीतिगत तहमा लामो समय काम गरेको अनुभव छ। उनी राजस्व व्यवस्थापन महाशाखाको पनि प्रमुख भैसकेका छन्।
सरकारले सहसचिवबाट सचिव बढुवा हुने बेलामा प्रदेशको प्रमुख बनाउने गरेको छ। यद्यपि शक्तिशाली र निकटलाई भने काठमाडौंमै पोष्टिङ गरेको उदारहण पनि छन्। शिक्षा मन्त्रालयका सहसचिव रहेका सूर्यप्रसाद गौतमलाई सरकारले महालेखा नियन्त्रक बनाएको थियो। लेखाको 'ब्याकग्राउण्ड' नै नभएका गौतमलाई काठमाडौंमै व्यवस्थापन गर्न महालेखा नियन्त्रक बनाइएको थियो।
यही उदाहरण हेर्ने हो भने सरकारले पुडासैनीलाई पनि काठमाडौंमै पोष्टिङ गर्न सक्छ अर्थात् उनी राजस्व सचिव बन्न सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।