काठमाडौं- त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसंचार केन्द्रीय विभागको आधुनिक भवन निर्माणका लागि शिलान्यास गरिएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त भवनको बुधबार शिलान्यास गरेका हुन्।
भवन शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले शिक्षाको गुणस्तर विकासलाई सरकारले प्रमुखताका साथ हेरिरहेको र अब निजी क्षेत्रको समेत सक्रिय सहभागितामा व्यवहारिक तथा प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर शिक्षा प्रणाली विकास गरिने बताए। सरकारले शिक्षामा लगानी गर्न कुनै कन्जुस्याँइ नगरेको पनि मन्त्री खतिवडाले स्पस्ट पारे।
राज्यको चौथो अंगका रुपमा चिनिने पत्रकारिता क्षेत्रलाई विकास गर्न विभागले अग्रणी भूमिका खेलेको भन्दै खतिवडाले अब यो क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्नका लागि विभागले थप सशक्त भूमिका खेल्ने बताए।
भवन शिलान्यासकै लागि आयोजना गरिएको औपचारिक कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले विश्वविद्यालयको जग्गा अतिक्रमण भइरहेकाले त्यसलाई रोक्न पर्खाल लगाउन सरकारसँग आग्रह गरे।
तर, अर्थमन्त्री खतिवडाले भने त्यति ठूलो क्षेत्रफलमा पर्खाल लगाउँदा ठूलो रकम आवश्यकपर्ने भएकाले प्राकृतिक तवरबाट नै जग्गा अतिक्रमण रोकिनुपर्ने बताएका थिए।

१९ करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको उक्त भवन आगामी २ वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ। अर्थमन्त्री खतिवडाले पनि उक्त भवन समयमा नै सम्पन्न हुने विश्वास आफूले राखेको र निर्माणका क्रममा कुनै समस्या आए समाधानका लागि आफूले तत्काल पहल गर्ने बताए।
‘म प्रायःजसो शिलान्यास कार्यक्रममा हिड्दिन। तर, म जहाँ जान्छु, त्यहाँ काम भएको छ। खाल्डा पुरिएका छन्। यहाँ पनि समयमै काम सकिन्छ भन्नेमा मैले विश्वास लिएको छु,’अर्थमन्त्री खतिवडाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।