काठमाडौं- सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि विश्व बैंकसँग थप २२ अर्ब ८० करोड रुपैयाँ (२०० मिलियन अमेरिकी डलर) ऋण लिने भएको छ। अर्थ मन्त्रालयमा बिहीबार यो ऋण सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको छ।
भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले विश्व बैंकबाट तेस्रो पटक ऋण लिन लागेको हो।
विश्व बैंकले नेपाललाई भूकम्पपछिको पुनर्निर्माणका लागि यसअघि दुई पटक क्रमश: २०० मिलियन डलर र ३०० मिलियन डलर ऋण दिइसकेको छ। अहिलेको समेत जोड्दा भूकम्पपछिको पुनर्निर्माणका लागि उसले दिने रकम ७०० डलर पुग्नेछ।
'पुनर्निर्माणका लागि स्रोतको अभाव भएपछि नेपालले थप ऋणको प्रस्ताव गरेको थियो, त्यसैअनुसार ऋण सम्झौता हुन लागेको हो,' राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्रोतले भन्यो।
सरकारले पुनर्निर्माणका लागि ९ खर्ब रुपैयाँ लाग्ने अनुमान गरेको थियो। त्यसमध्ये आन्तरिक स्रोत र बाह्य ऋण एवं अनुदानबाट प्राप्त रकम पर्याप्त नभएपछि थप ऋण लिने प्रक्रिया अघि बढाइएको छ। सरकारले विश्व बैंकसँगै अन्य दातृ निकायसँग पनि ऋणका लागि प्रस्ताव गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।