काठमाडौं -वैदेशिक रोजगारीका क्रममा गम्भीर बिरामी वा दुर्घटनामा परी कोमामा पुगेका श्रमिकका आश्रित परिवारलाई आर्थिक सहायता वा रोजगारीको व्यवस्था गर्नुपर्ने भन्दै छाँया सरकारकी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डा डिला संग्रौलाले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छन्।
डा संग्रौलाले प्रतिनिधि सभामा सोमबार सो प्रस्ताव दर्ता गराएकी हुन्।
‘रोजगारीका लागि गएकामध्ये दुई दर्जनभन्दा धेरै युवाहरू अहिले विभिन्न देशस्थित अस्पतालमा कोमामा वर्षौंदेखि रहेका छन्। उनीहरूको उचित उपचार र अवस्था हेरेर आश्रित परिवारलाई आर्थिक सहयोग र रोजगारीको अवसर प्रदान गर्नुपर्ने देखिएको छ‚’ प्रस्तावमा भनिएको छ।
त्यस्तै प्रस्तावमा वैदेशिक रोजगारीमा जाँदा समस्यामा परेका युवाहरुलाई प्रदान गरिने राहत प्रभावकारी तथा व्यवस्थित बनाउनुपर्ने उल्लेख गरिएको छ।
वैदेशिक रोजगारीका विषयमा सबै सरोकारवाला तथा सर्वपक्षीय छलफलमार्फत तमाम समस्याहरूको दीर्घकालीन समाधान खोज्न जरुरी रहेको छायाँ सरकारकी श्रम मन्त्री डा संग्रौलाको दाबी छ।
नेपाल-मलेसियाको श्रम समझदारीअनुसार शून्य लागतमा कामदार पठाउन सरकारले पहल गर्नुपर्ने तथा सरकारले नै मलेसियाली कम्पनीहरूसँग सिधा संवादमार्फत सुरक्षित रोजगारी सुनिश्चित गर्नुपर्नेमा संग्रौलाले जोड दिएकी छन्।
प्रस्तावमा डा संग्रौलाले भनेकी छन्, ‘विदेशमा रोजगारीकै क्रममा हुने अकाल मृत्युवरण न्यूनिकरणका लागि राज्य पक्षबाट भएका सघन पहलहरूका सम्बन्धमा सम्मानित सदनमा जानकारी दिइनुपर्ने आवश्यकता मैले महसुस गरेकी छु। वैदेशिक रोजगार ऐन २०६४ को पूर्वस्वीकृति तथा कामदार छनौट प्रक्रियामा भएको व्यवस्था विपरीत नेपाली कामदार पठाउँदा पनि संकट सिर्जना हुने गरेको छ। अर्कोतर्फ, अवैध बाटो हुँदै विदेश यात्रामा जानेहरूको ताँतीले थप समस्या निम्त्याएको छ।’
वैदेशिक रोजगारी समृद्धिका लागि सर्वकालीन विकल्प नहुने उनको भनाइ छ।
बरु मुलुकभित्र रोजगारीका अथाह सम्भावनालाई खोजेर रोजगारीको दीर्घकालीन प्रबन्धतर्फ नेपाल सरकार लाग्नुपर्दछ। तसर्थ सदनमा यो प्रस्तावमाथि छलफल गर्नु आवश्यक रहेको उनको भनाइ छ।
हाल ४० लाखभन्दा बढी संख्यामा नेपाली युवाहरू रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका छन्।
आफ्नो परिवारको गर्जो टार्न विदेश हिँडेका कतिपय नेपालीहरू विभिन्न कारणले विदेशमै ज्यान गुमाउन बाध्य छन्।
वैदेशिक रोजगार बोर्डका अनुसार विगत १० वर्षयता ७ हजार ३ सयभन्दा बढी नेपाली युवाहरुले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।