काठमाडौं- मंगलबार शेयर बजारमा १२.०९ अंकले करेक्सन देखिएको छ। गएका दिनमा लगातार सुधार देखिएको शेयर बजारमा मंगलबार ०.९० प्रतिशतको गिरावटसँगै १३३७.०४ अंकमा रोकिएको छ।
अधिकांश समय रातो देखिएको शेयर बजारमा एक अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ।
निर्जीवन बीमा कम्पनीमा सामान्य सुधार देखिए पनि अधिकांश सूचक घटेका छन्। गएका दिनमा बजार सुधार हुँदा कमाएका लगानीकर्ताहरुले नाफा बुक गर्न थालेपछि बजारमा बिस्तारै करेक्सन देखिन थालेको हो।
गएका दिनमा बीमा र माकइक्रो फाइनान्सका शेयरधनीहरुले झण्डै दोब्बरले नाफा कमाइसकेका छन्। कतिपय कम्पनीको शेयर मूल्य दुई तीन वर्षयताकै अधिकतम मूल्य कायम भएका छन्। शेयर बजार सबैभन्दा उच्च बिन्दुमा पुगेको बेलामा शेयर खरिद गरी हकप्रद र बोनसपछिको शेयर सहित बिक्री गर्दा केहि नाफा देखिन थालेपछि पुराना लगानीकर्ताहरुले बेच्न थालेका हुन्।
तर सबै कम्पनीको अवस्था यस्तो छैन। केही बीमा र लघुवित्तको शेयर होल्ड गरेर बसेका लगानीकर्ताहरुले समेत बिक्री गर्न थालेपछि शेयर बजारमा एकाएक रातो देखिन थालेको हो। तर यसलाई सामान्य करेक्सनको रुपमा बुझ्नुपर्ने केही विश्लेषकको विश्लेषण छ।
मंगलबार नेपाल इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै १० करोड ७० लाख रुपैयाँको कारोबार भएको छ। धेरै कारोबार हुनेमा अधिकांश बीमा कम्पनी र माइक्रो फाइनान्स नै छन्। सपोर्ट माइक्रो फाइनान्सको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै आधार मूल्य भन्दै धेरै तल रहेको दिव्यश्वरी हाइड्रोपावरको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लाग्दै ५७ रुपैयाँ पुगेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।