काठमाडौं- प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले गत वर्षको भन्दा ४.२२ प्रतिशतले नाफामा सुधार गरेको हो।
गत वर्षको यहि अवधिमा बैंकको नाफा एक अर्ब चार करोड रुपैयाँ थियो। बैंकको खुद व्याज आम्दानी १४.१२ प्रतिशतले सुधार भएको छ। पुस मसान्तसम्ममा बैंकले दुई अर्ब ४५ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ। खुद व्याज आम्दानीमा उल्लेख्य सुधार भएको पनि बैंकको सञ्चालन खर्च २५ प्रतिशतले बढ्दा नाफामा उल्लेख्य सुधार हुन नसकेको हो।
त्यस्तै बैंकले स्प्रेडदर घटाएको छ। यसले बैंकको नाफामा केहि प्रभाव पारेको हो। निक्षेप संकलनको तुलनामा कर्जाको विस्तार कम हुँदा पनि बैंकको नाफामा खासै सुधार नआएको हो। बैंकले गत वर्षको तुलनामा निक्षेप १०.०२ प्रतिशतले सुधार गरेको छ भने कर्जा लगानी ७.४४ प्रतिशतले सुधार भएको जनाएकाे छ।
दोस्रो त्रैमासिक अवधिमा बैंकले एक अर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ९४ अर्ब ७१ करोड रुपैयाँ ऋण लगानी गरेको छ। गत वर्षको यहि अवधिमा बैंकले एक खर्ब चार अर्ब रुपैयाँ निक्षेप संकलन गरि ८८ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।
गत वर्षको बैंकको सञ्चालन खर्च ८० करोड रुपैयाँ थियो। यस वर्ष २५ प्रतिशतले बढेर एक अर्ब रुपैयाँ पुगेको छ। नयाँ शाखा विस्तार तथा नयाँ कर्मचारी भर्ना गर्दा बैंकको खर्च ह्वात्तै बढेको हो।
पुँजीकोष अनुपात ११.९ प्रतिशत रहेको बैंकको खराब कर्जा ०.६५ प्रतिशतले बढेर ३.१२ प्रतिशत पुगेको छ। बैंकले खुद व्याज आम्दानीमा उल्लेख्य सुधार गर्न सफल भए पनि खराब कर्जाका लागि प्रोभिजनिङ गर्नु पर्दा नाफामा असर गरेको हो। चुक्ता पुँजी १६ प्रतिशतले सुधार हुँदा प्रतिशेयर आम्दानी दुई रुपैयाँले घटेर २१ रुपैयाँ छ।
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।