काठमाडौं- ललितपुरको पाटन संग्राहलयमा आयोजित चौथो अर्गानिक कृषिमेला सोमबारदेखि सकिएको छ।
अर्गानिक एसोसिएसन नेपाल र कञ्चनजंघा टी स्टेट एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा शुक्रबारदेखि मेला सुरु भएको थियो।
मेलामा अर्गानिक कृषि उत्पादनका ४० वटा स्टल राखिएको थियो।
विभिन्न विषादीयुक्त खाद्यान्नले निम्त्याउने समस्या निराकरणका लागि अर्गानिक उत्पादन प्रयोगमा जोड दिने मेलाको मुख्य उदेश्य रहेको आयोजकले जनाएको छ।
नेपाली उत्पादनलाई विश्वबजारसम्म प्रवर्द्धन गर्न मेलाले निकै महत्वपूर्ण भूमिका खेल्ने अर्गानिक एसोसिएसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले बताए।
'मेलाबाट राम्रो प्रतिक्रिया पाएका छौँ, सोचेजस्तै भयो। स्वदेशीसँगै विदेशी दर्शकले पनि मेला अवलोकन गर्नुभयो। उहाँहरुलाई हाम्रो उत्पादन मन पर्यो भने विदेशमा पनि माग हुन सक्छ,’अध्यक्ष बास्कोटाले भने। अध्यक्ष बास्कोटा भन्छन्, ‘कारोबार ठ्याक्कै कति भयो भनेर हामी हिसाब गर्दैछौँ। जे होस् लक्ष्यअनुसार व्यापार भएको छ।’
यस मेलाले दिर्घकालीन रूपमा अर्गानिक उत्पादन प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ।
मेलाबाट चिया, कफी, जुस, तरकारी, अचार, प्राङ्गगारीक मल, च्याउ, डेरी उत्पादन, हर्बल उत्पादन, मसला, चामल, गहुँ, मकै, दाल, फापरलगायतका अन्य उत्पादन, फलफुल, बिउ बिजन, मह, तेल, राडी, पाखी लगायत अन्य कृषि उपजहरु तथा कृषि तथा वाणिज्य, व्यापारसम्बन्धी प्रोजेक्टर सम्बन्धमा जानकारी, सूचनासमेत प्रवाह गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।