काठमाडौं- भृकुटीमण्डपमा ८ औँ घरजग्गा मेला हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास संघले आयोजना गर्ने यो मेला २०७७ वैशाख ४ गतेदेखि वैशाख ७ गतेसम्म चल्ने छ।
यस पटकको मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आवद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, ईन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्यान्टलगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बिमा कम्पनीको समेत सहभागिता रहने नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष मिनमान श्रेष्ठले बताए।
‘हामीले समग्रमा व्यवसायी, खरिदकर्ता लगानीकर्ता उपभोगा, रियल ईस्टेट एजेन्ट तथा ब्रोकर ईन्जिनियर आर्किटेक्चर योजनाकारलगायत अन्य सबै सेवाप्रदायक संस्थाका लागि यो मेला साझा मञ्च बन्ने विश्वास हामीले लिएका छौँ’ संघका अध्यक्ष श्रेष्ठले भने।
रियल स्टेटले व्यवस्थित सहरीकरणमा जोड दिँदै आएकाले यस वर्षको प्रदर्शनीबाट थप व्यवस्थित हुने उनको भनाइ थियो।
मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगा लगायत निर्माण सामग्री प्रदर्शनमा राखिने भएको छ ।
एकलाखभन्दा बढी दर्शकले मेलाको अवलोकन गर्ने विश्वास आयोजकले लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।