काठमाडौं- वाणिज्य विभागमा दर्ता गरिएको एजेन्सीकै भरमा सवारी आयात गर्न दिन नहुने माग नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गरेको छ।
सोमबार वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याललाई भेटेर नाडाको टोलीले यस्तो माग गरेको हो।
पछिल्लो समयमा केही कम्पनीले वाणिज्य विभागमा दर्ता भएर महँगा गाडी ल्याउन थालेपछि नाडाले सचिव बैकुण्ठ अर्याललाई भेटेर आर्थिक ऐनमा भएको व्यवस्था अनुसार एजेन्सी दर्ताको प्रक्रिया अघि बढाउन आग्रह गरेको हो।
विभागमा कम्पनी दर्ता गरेका भरमा विभिन्न ब्राण्डका गाडी भित्रिन थालेपछि नाडाले आइतबार कार्यसमितिको आकस्मिक बैठक डाकेको थियो। उक्त बैठकबाट अवैध आयात भएको गाडी नियन्त्रणका लागि सरकारी निकायसँग लबिइङ गर्ने निर्णय गरेको थियो। त्यही आधारमा नाडा टाेलीले वाणिज्य सचिव अर्याललाई भेटेको हो।
३ वर्षदेखि अवैध रुपमा ल्यान्डरोभरका गाडी आयात गर्दै आइरहेको किशोर गेयर प्रालिका प्रमुख किशोरबादे श्रेष्ठले नाडाकाे भेइकल समितिको बैठकमा झगडा गरेका थिए। नाडा उच्च स्रोतका अनुसार उनले आफूले जसको पनि गाडी आयात गर्न पाउनु पर्ने दाबी प्रस्तुत गरेका थिए। उनको अवान्छित माग पछि नाडा वाणिज्य सचिवलाई आर्थिक ऐन अनुसार नै सवारी आयात गर्ने व्यवस्थाका लागि आग्रह गर्न पुगेको हो।
आर्थिक ऐन २०७६ को अनुसूची १२ अनुसार निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधन नेपालस्थित आधिकारिक बिक्रेताहरुले मात्र पैठारी गर्न पाउँछन्। तर पछिल्लो समयमा अउडि र टेस्ला गाडी विभागमा दर्ता भएकै आधारमा नेपाल भित्रिएका थिए। सोही छलफलका क्रममा उद्योग वाणिज्य तथा आपूर्ति सचिव अर्यालले यसबारे केही दिनभित्रै नेपाल राष्ट्र् बैंक, बाणिज्य, आपूति तथा उपभोक्ता हित संरक्षण विभाग र भन्सार कार्यालयसँग छलफल गरी व्यवसायीको सहजीकरणका लागि निर्णय गरिने बताए।
छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल, उपाध्यक्षद्वय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनील रिजाल र केन्द्रीय कार्य समिति सदस्य अभिक ज्योति, निराकार श्रेष्ठ तथा शुभासिस थपलिया समेतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।