काठमाडौं- नेपाल एसबिआई बैंकले १० वर्षे अवधिको 'नेपाल एसबिआई बैंक ऋणपत्र २०८६' माघ २८ गतेदेखि सर्वसाधारणको लागि निष्काशन गर्ने भएको छ। बैंकले १० प्रतिशत व्याजदरमा सर्वसाधारणको लागि एक अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने छ।
बैंकले छिटोमा फागुन दुई गतेसम्म बिक्री गर्नेछ। यदि पहिलो चरणमा बिक्री नभए ढिलोमा फागुन २८ गतेसम्म बिक्री खुला गर्ने छ। लगानीकर्ताहरुले आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्ने छन्। मेरो शेयरमा खाता हुनेले अनलाइनबाटै आवेदन दिन सक्ने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ।
जम्मा २ अर्ब ५० करोड रुपैयाँ उक्त ऋणपत्र मध्ये एक अर्ब ५० करोड रुपैयाँ बैंक आफैंले बिक्री गर्नेछ। लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्। प्रति इकाई १००० रुपैयाँ पर्ने ऋणत्रमा लगानी गर्दा अर्धवार्षिक रुपमा १० प्रतिशतका दरले व्याज पाइन्छ।
इक्रा नेपालका अनुसार यस ऋणपत्रमा गरिएको लगानी न्यून जोखिम मानिन्छ। उक्त ऋणपत्रले न्यून कर्जा जोखिम जनाउने 'इक्राएनपि एल डवल ए' प्राप्त गरेको छ। अर्थात यो ऋणपत्रमा लगानी गर्दा एकदमै कम जोखिम रहेको संकेत प्रदान गर्दछ।
यदि ऋणपत्र परिपक्व नभइ बिक्री गर्नु पर्याे भने नेपाल स्टक एक्सचेन्जको अनलाइन प्रणालीबाट बिक्री गर्न सकिने छ। नेप्सेले यसै वर्षदेखि अनलाइन कारोबार गर्न सक्ने व्यवस्था मिलाएको हो।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्यस्तरका बैंकहरुलाई चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नैपर्ने व्यवस्था गरेपछि बैंकले यो ऋणपत्र निष्काशन गर्न लागेको हो। यो ऋणपत्र बापतको पैसा बैंकहरुले कर्जा लगानी गर्न पाउने छन्। बैंकिङ प्रणालीमा दिर्घकालीन स्रोत जुटाउने औजारको रुपमा राष्ट्र बैंकले ऋणपत्रको निष्काशनलाई अनिवार्य गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।