काठमाडौं- अन्नपूर्ण सुगर मिलले उखु किसानलाई तिर्न बाँकी ४० करोड रुपैयाँ बढी बक्यौता भुक्तानीका लागि सहजीकरण गरिदिन भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेको छ।
अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रिज प्रालि र इन्दिरा सुगर एण्ड एग्रा इन्ड्रस्ट्रिज प्रालिका संचालक राकेश अग्रवालको स्वामित्वमा रहेको त्रिपुरेश्वर कन्डक्टर उद्योग प्रालिले नेपाल विद्युत प्राधिकरणअन्तर्गतका विभिन्न आयोजनामा काम गरिरहेको छ। ती आयोजनामा काम गरेबापत उक्त कम्पनीलाई नेपाल विद्युत् प्राधिकरणले तिर्न बाँकी रकम भुक्तानी गर्दा उखु किसानले त्यो रकम पाउने व्यवस्था मिलाउन सहजीकरण गरिदिन भन्दै उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमार्फत नेपाल विद्युत् प्राधिकरणलाई पत्र पठाएको हो।
त्रिपुरेश्वर कन्डक्टर उद्योग प्रालिले विद्युत्सँग सम्बन्धित निर्माण सामग्री र अरु निर्माण कम्पनीसँगको जोइन्ट भेन्चरमा ३ दर्जन बढी आयोजनामा काम गरिरहेको छ। ती आयोजनामा उक्त कम्पनीले काम गरेबापत प्राधिकरणमार्फत पाउने भुक्तानी सोझै किसानको हातमा पुग्ने व्यवस्था मिलाउन र त्यसका लागि सहजीकरण गर्न भन्दै उद्योग मन्त्रालयले प्राधिकरणलाई पत्र लेखेको हो।
उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले उद्योग मन्त्रालयले रकम भुक्तानीका लागि मन्त्रालय र प्राधिकरणलाई लेखिपठाएको बताए। ‘उद्योग मन्त्रालयले पठाएको पत्रको व्यहोराअनुसार हामीले विद्युत् प्राधिकरणलाई जानकारी गराइसकेका छौं। उखु किसानलाई भुक्तानी गर्न सहजीकरण होस भनेर हामीलाई पत्र आएको हो,’ उनले भने।
त्रिपुरेश्वर कन्डक्टर उद्योग प्रालिले विभिन्न स्थानका सबस्टेशन र वितरणलाईनमा काम गरिरहेको छ। तर अधिकांश आयोजना भने अधुरो र अपुरो अवस्थामा छन्। आयोजना सम्पन्न भइसकेको अवस्थामा भने प्राधिकरणले पनि भुक्तानी नगर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।