• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १९, २०८२ Fri, Dec 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कम्युनिस्ट पार्टीका थरीथरीका महाधिवेशन

64x64
किशोर दहाल सोमबार, माघ २०, २०७६  ११:३५
1140x725

काठमाडौं- तत्कालीन एमाले र माओवादी केन्द्रले नियमित रुपमा आफ्नो महाधिवेशन गर्ने हो भने उनीहरुले क्रमशः दसौं र आठौं महाधिवेशन गर्ने थिए। एमालले २०७१ असारमा नवौं र माओवादीले २०६९ माघमा सातौं महाधिवेशन गरेका थिए।

दुवै पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपछि उनीहरुले २०७७ चैतमा गर्ने भनिएको महाधिवेशनको क्रमसंख्या कति हुन्छ? २०७६ माघ १५-१९ मा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकमा यो विषय उठे पनि निर्णय भने भएन।

संसद भित्र र बाहिर गरी झन्डै आधा दर्जन कम्युनिस्ट पार्टीले आफ्नो सक्रियता देखाइरहेका छन्। तर, सबैको महाधिवेशन क्रमसंख्या भने फरकफरक छ। यस्तो किन भयो त?

खासमा, पञ्चायतकालमा भएको पार्टी विभाजन, त्यसपछि एकता र नयाँ गठनबाट बनेका पार्टीहरुको अनेकथरि महाधिवेशनले अहिलेको कम्युनिस्ट पार्टीको महाधिवेशन क्रमसंख्या फरकफरक भएको हो। यो सामाग्रीमा हामी मुख्यगरी नेकपामा नाममा एकीकृत भएका कम्युनिस्ट आन्दोलनका दुई धार तत्कालीन एमाले र माओवादी केन्द्रको महाधिवेशनको क्रमलाई विस्तृतमा र अन्य कम्युनिस्ट घटकका महाधिवेशनलाई संक्षेपमा चर्चा गर्नेछौं।

० ० ०

पुष्पलालको नेतृत्वमा विस २००६ मा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भयो। तर, दुई वर्षपछि नै यो पार्टी प्रतिबन्धमा पर्‍यो। २००८ माघ ८ मा बन्दी अवस्थामा रहेका डा केआइ सिंहले सिंहदरबार 'कब्जा' गरेपछि त्यसमा कम्युनिस्ट पार्टीको पनि सम्बद्धताको आशंकामा तत्कालीन मातृका कोइराला सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध ५ वर्ष कायम रह्यो। राजा महेन्द्रको राज्याभिषेकको मुखमा पार्टीले संघर्ष गर्ने बताएपछि २०१३ बैशाख ४ मा प्रतिबन्ध फुकुवा भयो।

पार्टी प्रतिबन्धित रहेकै अवस्थामा २०१० माघमा पाटनमा भूमिगत अवस्थामा पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भयो। महामन्त्रीको हैसियतले मनमोहन अधिकारीले 'केन्द्रीय कमिटीको रिपोर्ट' भन्ने राजनीतिक प्रतिवेदन र 'नेपाल कम्युनिस्ट पार्टीको कार्यक्रम' भन्ने पार्टी कार्यक्रम प्रस्तुत गरे। दुवै एक मतले पारित भए।

महाधिवेशनले अधिकारीलाई नै महासचिव बनाउँदै १३ सदस्यको केन्द्रीय कमिटी गठन गर्‍यो। महाधिवेशनले तुल्सीलाललाई गुटबन्दी गरेको र डिपी अधिकारीलाई गलत तत्त्वलाई पार्टीमा घुसाएको आरोपमा ६ महिनाको लागि सदस्यबाट निलम्बन गर्‍यो।

Ncell 2
Ncell 2

चिनियाँ कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनमा भाग लिन महासचिव अधिकारीको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल त्यता गयो। अधिकारी त्यता जानुअघि कार्यवाहक महामन्त्री केशरजंग रायमाझीलाई बनाइएको थियो। रायमाझीलाई कार्यवाहक महासचिव बनाउने क्रममा विवाद भएको थियो। आफू संस्थापक महासचिव भएका कारण चीन जान पाउनुपर्ने अडान पूरा नभएपछि पुष्पलाल आक्रोशित भएका थिए। फलस्वरुप उनी कार्यवाहक महासचिव बन्न पनि चाहेनन्। जसका कारण,  रायमाझीले अवसर पाएका थिए। जो पोलिटब्युरोको कनिष्ठ सदस्य थिए।

त्यसैक्रममा पार्टीभित्र दुई लाइन संघर्ष देखा पर्न थाल्यो। एउटा धारको नेतृत्व रायमाझी र अर्कोको पुष्पलालले गरे।

चीन गएका अधिकारी उपचारका लागि लामो समय उतै रहे। २०१४ जेठ १५-२५ मा काठमाडौंको फोहोर दरबारमा खुला रुपमै दोस्रो महाधिवेशन भयो। यता महाधिवेशन हुँदै गर्दा महासचिव अधिकारी भने चीनमै थिए।

महाधिवेशनको झन्डोत्तलन पुष्पलालले गरे। उद्घाटन भने रायमाझीले गरे।

महाधिवेशनअघि कार्यवाहक महामन्त्री भएका रायमाझीले आफूलाई थप शक्तिशाली बनाउँदै लगेका थिए। उनले एक किसिमले पार्टी नै कब्जा गरेका थिए।

यसको परिणाम दोस्रो महाधिवेशनमा देखियो। चुनावमार्फत रायमाझी महासचिव चुनिए। यो महाधिवेशनको रोचक पक्ष के छ भने अल्पमतमा रहेका पुष्पलालको कार्यक्रम पारित भयो तर नेतृत्वमा भने बहुमतबाट रायमाझी चुनिए। नेतृत्वको लागि भएको मतदानमा उनले १७ मध्ये १२ मत पाएका थिए। पुष्पलालले ५ मत मात्रै पाए। अल्पमतमा रहेका पुष्पलालको कार्यक्रम पारित भएका कारण त्यसलाई लागु गर्न बहुमतको नेतृत्वले ध्यान दिएन।

यसैबीच पञ्चायत सुरु भयो। चीनबाट उपचार गरी फर्किएका अधिकारी लगायत यहाका धेरै नेताहरु जेलमा परे।

पार्टी प्रमुख रायमाझीले मस्कोबाटै राजाको कदमको स्वागत गरिदिए। उनी पूर्णरुपमा राजावादी कम्युनिस्ट भइसकेका थिए।

अवस्था अप्ठ्यारो हुँदै गयो। पार्टी प्रतिबन्धित थियो। त्यसमाथि प्रभावशाली नेताहरु जेलमा पनि परेका थिए। जेलबाहिर र भित्रका नेताहरु बीच प्रभावकारी सम्पर्क हुन सकेको थिएन। पार्टीका सानातिना विवाद पनि ठूला देखिन थाले। अप्ठ्यारो परिस्थिति भएका कारण पार्टी कार्यनीति र रणनीतिमा पनि अलमल देखिन थाल्यो।

यहाँ जोड्न उचित हुनेछ, २०१७ फागुन-चैतमा भारतको दरभंगामा बसेको पार्टीको विस्तारित बैठकले ९ महिनाभित्र पार्टीको तृतीय महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर दस्तावेज, प्रतिनिधित्व, स्थान, खर्च लगायतको विषयमा निर्णय नभएको भन्दै तोकिएको समयमा महाधिवेशन हुन सकेन। ०१७ पुषमा सुरु भएको पञ्चायती शासनमा पार्टीहरु प्रतिबन्धित भएका कारण महाधिवेशन झन् कठिन बन्दै गयो। महाधिवेशन नै नभएपछि पार्टीभित्र बहुमत र अल्पमतबीच विवाद बढ्न थाल्यो। अल्पमतले आन्तरिक विधि पुर्‍याई बैशाख ४-१५, २०१९ मा भारतको बनारसमा बेग्लै 'तेस्रो महाधिवेशन' गरे।

दरभंगा विस्तारित बैठकले विभिन्न जोन (क्षेत्र) निर्धारित गरिएको थियो। ती जोनका प्रतिनिधिहरु सामेल भई २०१८ भदौमा अन्तरजोन समञ्जस्य समिति गठन गरियो। तेस्रो महाधिवेशन त्यही समितिले गरेको थियो।
महाधिवेशनमा जसमा समितिको तर्फबाट सचिव तुलसीलाल अमात्यद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमलाई पारित गरियो। साथै, ५१ सदस्यीय राष्ट्रिय परिषद् र ७ सदस्यीय सचिवालय (राजनीतिक समिति) गठन गरियो। महासचिवमा अमात्य चुनिए। सचिवालयमा पुष्पलाल, मनमोहन अधिकारी (जेल), हिक्मतसिंह भण्डारी, कृष्णराज वर्मा (जेल), मोहनविक्रम सिंह (जेल) र कमलराज रेग्मी रहे। 

महाधिवेशनमा तत्कालिक कार्यक्रमका विषयमा मुख्य विवाद थियो। अमात्यले संप्रभुता सम्पन्न संसद, पुष्पलालले विघटित संसदकै पुनर्स्थापना र मोहन विक्रम सिंहले संविधानसभाको निर्वाचनको माग राखेका थिए। सिंहका तर्फबाट बलराम उपाध्यायले माग राखेका थिए। तर, अमात्यको ८२ प्रतिशत मत पर्‍यो।

० ० ०

अहिलेका मुख्य कम्युनिस्ट पार्टीहरुको महाधिवेशनको साझा आधार २०१९ सालको तेस्रो महाधिवेशन नै हो। सोही महाधिवेशनपछि कम्युनिस्ट पार्टीमा विभाजनको अनन्त श्रृंखला सुरु भएको थियो। तत्कालीन माले अर्थात् पूर्व एमालेले २०१९ सालको महाधिवेशनसँग आफ्नो संगती मिलाएर र चौथो महाधिवेशन गरे।

तत्कालीन एकता केन्द्र तथा पूर्व माओवादीले पनि ०३१ र ०४१ सालमा भएका महाधिवेशनसँग आफ्नो संगति मिलाए।

० ० ०

एमाले र माओवादीबीच एकता नभएको भए नेकपा एमाले (तत्कालीन माले) ले दसौं महाधिवेशनको तयारीमा हुन्थ्यो। उसले ०१९ सालको तेस्रो महाधिवेशनलाई आधार बनाउँदै ०४६, ०४९, ०५४, ०५९, ०६५ तथा ०७१ मा महाधिवेशन गरिसकेको छ।

०३५ सालमा गठन भएको मालेले ०४६ भदौ ९-१४ सम्म सिरहामा भूमिगत रुपमा चौथो महाधिवेशन गरेको थियो। यसै महाधिवेशनले पार्टीको मार्गदर्शक सिद्धान्तबाट माओ विचारधारालाई हटाएको थियो। र, बहुदलीय शासन प्रणालीलाई अपनाएको थियो। यो महाधिवेशनबाट मदन भण्डारी महासचिव भए।

०४७ पुष २२ गते माले र मार्क्सवादीबीच एकता भयो। र एमाले बन्यो। एकतापछि नेतृत्वका लागि अध्यक्ष पद सिर्जना गरियो। पार्टी अध्यक्ष नेकपा (मार्क्सवादी)का मनमोहन अधिकारीलाई बनाइयो। भण्डारी महासचिव बने।

०४९ माघ १४-२० मा काठमाडौंमा एमालले पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्‍यो। भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद (जबज) पारित गरियो। यद्यपि, महाधिवेशनमा भण्डारीको जबजका अतिरिक्त सीपी मैनालीको परिमार्जित नौलो जनवाद, मोहनचन्द्र अधिकारीको नौलो जनवाद, रघु पन्तको सामाजिक जनवादीजस्ता कार्यक्रम पनि प्रस्तुत गरिएका थिए। तर, व्यापक छलफलबाट पनि निष्कर्ष ननिस्किएपछि मतदान भयो, जहाँ भण्डारीको दस्तावेजले बहुमत पायो। अधिकारी र भण्डारीले क्रमशः अध्यक्ष र महासचिवमा नै निरन्तरता पाए।

०५० जेठ ३ को दासढुंगा घटनामा भण्डारी र आश्रितको निधन भएपछि माधव नेपाल महासचिव बनाइए।

०५४ माघ १२-१८ मा नेपालगंजमा एमालेको छैटौं महाधिवेशन सम्पन्न भयो। छैटौं महाधिवेशनमा पुग्दा पार्टीले एकातिर आफ्ना निर्णयहरुलाई पाँचौं महाधिवेशनको नीतिहरुको निरन्तरता हो भनेर दाबी गर्‍यो भने

अर्कातिर, 'जनताको बहुदलीय जनवाद' स्वयं नै क्रान्तिहरुको सिद्धान्त हो भन्ने घोषणा गर्‍यो। महाधिवेशनले मनमोहन अधिकारी अध्यक्ष र माधव नेपाल महासचिव रहेको केन्द्रीय कमिटी निर्वाचित गर्‍यो।
एमालेले ०५९ माघ १८-२२ मा जनकपुरमा सातौं महाधिवेशन गर्‍यो। जबजले सिद्धान्त र माधव नेपालले नेतृत्वको रूपमा निरन्तरता पाए।

एमालेले ०६५ फागुन ५-१४ मा बुटवलमा आठौं महाधिवेशन सम्पन्न भयो। अधिकारीको मृत्युपछि छाडिएको अध्यक्ष पद पुन प्रयोगमा ल्याइयो। पहिलो कार्यकारी अध्यक्ष बने झलनाथ खनाल। उनले चुनावमा केपीशर्मा ओलीलाई चुनावमा पराजित गरेका थिए। महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्तको रूपमा अख्तियार गर्‍यो।

एमालेले २०७१ असार १९- साउन १ मा काठमाडौंमा नवौं महाधिवेशन आयोजना गर्‍यो। केपी ओली अध्यक्षमा निर्वाचित भए।

० ० ०

माओवादीबारे बुझ्न २०१९ सालको तेस्रो महाधिवेशनपछि कम्युनिस्ट पार्टी कसरी गुज्रिए भनेर बुझ्नु जरुरी हुन्छ।

सो महाधिवेशबाट केशरजंग रायमाझी, शम्भुराम श्रेष्ठ र डिपी अधिकारीलाई क्रमश ३, १ र २ वर्षका लागि पार्टीबाट निष्काशित गरियो।

पार्टी विभाजन भयो।

विभाजनपछि कम्युनिस्ट पार्टीहरु झन् कमजोर बन्दै गए। नेताहरु नै छरपस्ट भए। निष्क्रियता छायो। २०१९ सालको तेस्रो महाधिवेशनद्वारा निर्वाचित नेतृत्वभित्रै अन्तरकलह उत्पन्न भयो। पार्टी महासचिव अमात्य र वरिष्ठ नेता पुष्पलालका बीच नै द्वन्द्व सुरु भयो। विवादकै बीच २०२५ जेठमा भारतको गोरखपुरमा 'तेस्रो सम्मेलन'को आयोजना गरी पुष्पलालले बेग्लै पार्टी स्थापनाको घोषणा गरे।

उता कारबाहीमा परेका रायमाझी समूहले २०२३ सालमा तेस्रो केन्द्रीय सम्मेलन गर्‍यो। र, २०२४ सालमा तेस्रो महाधिवेशन गर्‍यो। जेलमा रहेका मनमोहन अधिकारी र शम्भुराम श्रेष्ठलाई समेत केन्द्रीय समितिमा समट्दै नेतृत्व चयन गर्‍यो। तर यो समूह पनि एक भइरहन सकेन। सो पार्टीमा विष्णुबहादुर मानन्धरले ०३८ मा विद्रोह गरी नेकपा (मानन्धर) अस्तित्वमा ल्याए। ०४० मा रायमाझी समूहबाट कृष्णराज वर्माले विद्रोह गरी नेकपा (वर्मा) अस्तित्वमा ल्याए। अन्तिममा ०४३ समूहका एउटा समूहले स्वयं रायमाझीलाई नै निष्काशित गरी नेकपा (मातृ समूह) स्थापना गरे।

फुटका बेला पुष्पलाल समूहमा रहेका अन्य नेताले पनि पुष्पलालकै बाटो पछ्याए। कम्युनिस्ट पार्टीहरु मुख्य व्यक्तिपिच्छेका समूहमा गठन हुन थाले। यसै क्रममा मजदुर किसान सभा (२०३०), कम्युनिस्ट एकता सम्पर्क समिति, नेपाल (२०३०), सर्वहारा क्रान्तिकारी संगठन (२०३३) र मुक्तिमोर्चा समूह (२०३३) जस्ता स-साना कम्युनिस्ट समूहहरु अस्तित्वमा आए।

मनमोहन अधिकारी ०२५ सालमा जेलमुक्त भए। उनी केहीसमय राजनीतिमा सक्रिय भएनन्। २०२७ मा मोहनविक्रम सिंह पनि जेलबाट छुटेपछि मनमोहन अधिकारी, सिंह, शम्भुराम श्रेष्ठ लगायतका नेताले छरपष्ट भएको कम्युनिस्ट समूहहरुलाई एकीकृत गर्ने प्रयास गरे। र, ०२८ मंसिर २० मा केन्द्रीय न्युक्लियस गठन गरे। सचिवमा अधिकारी चयन भए।

न्युक्लियसले पुष्पलालको समूहसँग एकताको पहल पनि गर्‍यो। तर सफल हुन सकेन। बरु, पार्टीभित्र अधिकारी र सिंहबीच टकराव देखिन थाल्यो। बिस्तारै अधिकारी न्युक्लियमा निष्क्रिय हुन थाले। बाँकीले ०३१ भदौ ३०- असोज ७ मा बनारसमा चौथो महाधिवेशन गरे। र नेकपा (चौथो महाधिवेशन) गठन गरे। मोहनविक्रम सिंहलाई पार्टी सचिव निर्वाचित गरियो। चर्चित नेताहरु मोहन वैद्य, चित्रबहादुर केसी, निर्मल लामाहरु सबै यसै पार्टीमा विभिन्न भूमिकामा थिए।

मोहनविक्रम नेतृत्वको नेकपा (चौथो महाधिवेशन) मा सुरुदेखि नै विवादहरु देखिन थाल्यो। ०३५ मा नै महासचिव मोहनविक्रम सिंहलाई कारबाही गरी पार्टी महासचिव तथा अन्य कारबाहीबाट मुक्त गरियो। निर्मल लामा महासचिव बने। उनीमाथि पनि विभिन्न आरोप लाग्यो। उनी पनि हटाइए। भक्तबहादुर श्रेष्ठ महासचिव बने। लामा दुई वर्षका लागि पार्टीबाट निष्काशनमा परे। श्रेष्ठ प्रमुख भएपछि सिंह पार्टी समितिमा पुनर्स्थापित हुन पुगेका थिए। तर फेरि उस्तै आरोपमा कारबाहीमा परे।

पार्टीमा विवादहरु चलिरहे। अन्तत यो पार्टी पनि सिंह र लामा समूहमा विभाजन भयो। सिंह समूहले ०४० कात्तिकमा गोरखपुरमा नेकपा (मशाल) गठन गर्‍यो र अर्को पक्षलाई पार्टीबाट निष्काशन गर्‍यो। लामा समूहले पनि सोही वर्ष फागुनमा प्रथम राष्ट्रिय सम्मेलन आयोजना गरी नेकपा (चौम) गठन गरे।

मशालले ०४१ मंसिर १-१६ मा भारतको अयोध्यामा पाँचौं महाधिवेशन सम्पन्न गर्‍यो। मोहन वैद्य महासचिवमा चुनिए। कारबाहीमा रहेका मोहनविक्रमको तर्फबाट उनी निकटका चित्रबहादुर केसीले प्रस्तुत गरको राजनीतिक प्रतिवेदन पारित भएको थियो। तर नेतृत्वमा वैद्य आए। एकीकृत पार्टीको दोस्रो महाधिवेशनको पुनरावृत हुनथाल्यो। फलस्वरुप सिंह पक्षले एक केन्द्रीय आयोजक समिति गठन गरेर पार्टी विभाजन गरे।
वैद्य नेतृत्वको नेकपा (मशाल) मा पनि केही वर्षमै नै उथलपुथल आयो। चर्चित सेक्टर काण्डपछि प्रचण्ड नेतृत्वमा आए। उनी ०४२ सालमा पार्टी विभाजनपछि वैद्यतिर लागेका थिए।

जनआन्दोलनको सफलतासँगै केही कम्युनिस्ट घटकहरुले एकता प्रक्रिया थाले। फलस्वरुप ०४८ सालमा नेकपा मसाल (प्रचण्ड), नेकपा चौम (निर्मल लामा), मोहन विक्रम सिंहबाट छुट्टिएर आएको बाबुराम भट्टराईको समूह तथा सर्वहारा श्रमिक संगठनबाट छुट्टिएर आएको रुपलाल विश्वकर्मा पक्ष मिलेर एकता केन्द्र गठन भयो।

०४८ मंसिरमा चितवनको माडीमा एकीकृत पार्टीको छैटौं र एकता महाधिवेशन सम्पन्न भयो। त्यसबाट दीर्घकालीन जनयुद्धको बाटो तय गरियो। त्यसैको परिणामस्वरुप, ०५१ सालमा पार्टी विभाजन भयो। प्रचण्ड पक्षधरहरुले नेकपा माओवादी गठन गरी २०५२ सालदेखि सशस्त्र युद्ध गर्न थाले।

लामो समय युद्धमा रहेको र त्यसपछि पनि अनेक जटिलताबाट गुज्रिएको माओवादीले २०६९ माघ २०-२६ मा हेटौंडामा सातौं महाधिवेशन गर्‍यो। यो महाधिवेशनबाट जनयुद्धको बाटो छाड्दै समाजवादी क्रान्तिमा लाग्ने कार्यादिशा पास भयो। अध्यक्षमा प्रचण्ड नै निरन्तर रहे।

० ० ०

तत्कालीन एमाओवादीलाई २०६९ असारमा विभाजन गरी मोहन वैद्य किरणको नेतृत्वमा नेकपा-माओवादी गठन भयो। सो पार्टीले सोही वर्ष पुसमा सातौं महाधिवेशन गर्‍यो। उसले ०४८ सालको छौंटौं महाधिवेशनसँग संगति मिलाएको देखिन्छ। महाधिवेशनबाट किरण अध्यक्ष र रामबहादुर थापा बादल महासचिव बनेका थिए। जनयुद्धको जगमा जनविद्रोहको लाइन पास गरेको थियो। पास भएको लाइनको कार्यान्वयन त परको कुरा, पार्टी नै छिन्नभिन्न भइसकेको छ। सर्वप्रथम २०७१ सालमा नेत्रविक्रम चन्द विप्लवले बेग्लै पार्टी बनाए। बादलको नेतृत्वमा अर्को समूह पुनः एमाओवादी प्रवेश गर्दै अहिले नेकपा भइसकेको छ।

अहिले प्रतिबन्धित रहेको विप्लव नेतृत्वको पार्टीले २०७३ फागुनमा आठौं महाधिवेशन गर्‍यो। वैद्य नेतृत्वमै रहँदा गरिएको सातौं महाधिवेशनलाई उसले संगति मिलाएको देखिन्छ। काठमाडौंमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भने रोल्पामा गरिएको थियो।

अन्य कम्युनिस्ट पार्टीका महाधिवेशनको क्रम पनि फरकफरक छ। जस्तो कि, नेपाल मजदुर किसान पार्टीले ०७६ असोजमा भक्तपुरमा सातौं महाधिवेशन गर्‍यो। २०४७ पुसमा भैरहवामा सो पार्टीले पहिलो महाधिवेशन गरेको थियो। नारायणमान विजुक्छेलाई नेतृत्वमा चयन गरेको थियो। त्यस्तै, २०५१ असोजमा भक्तपुरमा दोस्रो, २०५५ माघमा भक्तपुरमै तेस्रो, २०६५ भदौमा काठमाडौंमा चौथो, २०७० चैतमा काठमाडौंमै छैटौं महाधिवेशन गरेको थियो।

त्यस्तै, मोहन विक्रम सिंहले नेतृत्व गरेको नेकपा मसाल (वैधानिक मोर्चा- राष्ट्रिय जनमोर्चा)ले पनि गत असारमा भूमिगतरुपमा आठौं महाधिवेशन सम्पन्न गर्‍यो। सो पार्टीले २०६३ फागुनमा सातौं महाधिवेशन गरेको थियो। तत्कालीन मसालले २०४१ सालमा पाँचौं महाधिवेशन गरेको थियो। सिंहले २०४२ सालमा मशाल विभाजन गरी नेकपा मसाल गठन गरेका थिए। तत्‌पश्चात मसालले छैटौं महाधिवेशन गरेको थियो।

त्यस्तै, नेकपा मालेले २०७३ बैशाखमा सातौं महाधिवेशन गरेको थियो। जसबाट पार्टी महासचिवमा सिपी मैनाली निरन्तर रहे। एमालेको छैटौं महाधिवेशनबाट विभाजन भएर (२०५४ फागुन २१) गठन भएको सो पार्टीले आफ्नो महाधिवेशनको क्रमलाई पनि त्यही महाधिवेशनसँग संगति मिलाएको देखिन्छ। यद्यपि, पार्टी विभाजनका नेतृत्वकर्ता तथा अन्य मुख्य नेताहरुले भने २०५८ फागुन ४ मै एमालेसँग एकता गरिसकेका छन्।

सम्बन्धितः

नेपाली कम्युनिस्ट पार्टीहरुको फुट-जुट (शृंखला – १)

नेपाली कम्युनिस्ट पार्टीहरुको फुट-जुट (शृंखला – २)

नेपाली कम्युनिस्ट पार्टीहरुको फुट-जुट (शृंखला – ३)

नेपाली कम्युनिस्ट पार्टीहरुको फुट-जुट (अन्तिम शृंखला) 

प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  ११:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन... शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अ... शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्