काठमाडौं- भारत सरकारले विद्युतीय सवारीको आयातमा ५ देखि १५ प्रतिशतसम्म भन्सार बढाएको छ। आयातित विद्युतीय सवारीमा शनिबारदेखि लागू हुने गरि उक्त भन्सार दर लागू भएको हो। योसँगै भारतमा आयात हुने विद्युतीय सवारी मंहगो हुने भएको छ।
हाल भारतमा विभिन्न कम्पनीका विद्युतीय सवारी आयात हुँदै आएका छन्। ‘कम्प्लिट्ली विउड युनिट’ तथा ‘नकडाउन किट्स’ आयात गरेर एसेम्बल गर्ने कम्पनीका सवारीसमेत महंगो हुने भएको हो। हुन्डाईको कोना, एमजी जेडएस इभी भारतमा आयात हुँदै आएको छ।
यसअघि भारतमा कमर्सियल इलेक्ट्रिक सवारीको कम्प्लिट्ली विउल्ड युनिटको भन्सार २५ प्रतिशत थियो। नयाँ नियमअनुसार अब त्यस्तो सवारी आयातमा ४० प्रतिशत भन्सार लाग्ने छ। यस्तै इन्टरनल कम्बस्चन इन्जिनयुक्त कमर्सियल गाडीको आयातमा लाग्ने भन्सार ३० प्रतिशतबाट ४० प्रतिशत पुर्याइएको छ।
इलेक्ट्रिक प्यासेन्जर भेइकल, तीनपांग्रे सवारीको सेमि नकडाउन युनिट आयातमा १५ प्रतिशत कर लाग्ने गरेकोमा अब ३० प्रतिशत भएको छ। साथै सेमि नकडाउन युनिटका बस, ट्रक तथा दुईपांग्रेको आयातमा १५ प्रतिशत कर लाग्ने गरेकोमा अब २५ प्रतिशत लाग्ने भएको हो।
भारतमै उत्पादित विद्युतीय सवारीलाई सरकारको नयाँ नियमले फाइदा हुने भएको छ। टाटाको नेक्सन इभी, टिगोर इभी, महिन्द्रा केयुभी १०० इभीलगायतका विद्युतीय कारलाई मूल्यमा अन्य आयातीत सवारीसँग प्रतिस्पर्धा गर्न सहज हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।