काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले प्राथमिक सेयर निष्कासनका लागि रेटिङ गराएका छन्।
सन नेपालले ६० करोड रुपैयाँ र अजोडले ३० करोड रुपैयाँको प्राथमकि सेयरको रेटिङ गराएका हुन्।
दुवैले प्राथमिक शेयर निष्काशन गर्न मिल्ने 'केयर एनपि आइपिओ ग्रेड चार' प्राप्त गरेका छन्।
यस सूचकले आइपिओमा गरिएको लगानीमा मध्यम किसिमको सुरक्षा रहेको संकेत प्रदान गर्दछ। दुवै कम्पनीले अघिल्लो आर्थिक वर्षमा नयाँ अनुमति प्राप्त गरेका थिए। बिमा ऐन अनुसार जीवन तथा निर्जीवन बिमा व्यवसाय गर्नेले पुँजीको ३० प्रतिशत शेयर अनिवार्य रुपमा सर्वसाधारणहरुलाई निष्काशन गर्नु पर्ने व्यवस्था छ।
रेटिङ एजेन्सीका अनुसार दुवै कम्पनीको व्यवसायिक इतिहास धेरै कम भएको, पुराना बिमा कम्पनीहरुसँग उच्च प्रतिस्पर्धा रहेको, कमजोर सोल्भेन्सी रेसियो भएकाले कमजोर रेटिङ कम आएको हो।
हाल नेपालमा १९ वटा जीवन बिमा कम्पनी छन्। प्रिमियम संकलनका हिसावले सन नेपालको स्थान १५ औ नम्बरमा छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा जीवन बिमा कम्पनीहरुले ७७ अर्ब ६ करोड रुपैयाँ बिमा शुल्क आर्जन गर्दा सन नेपालको बजार हिस्सा भने जम्मा १.०७ प्रतिशत मात्रै छ।
कम्पनीमा समुहका अनुज क्याल सञ्चालक छन्। त्यस्तै प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल छन्। अहिलेको पुँजी संरचना अनुसार ओम चाओ विरो फिड इन्ड्रस्ट्रिजको १०.७१ प्रतिशत, रोशन केसीको ७.८७ प्रतिशत र कालिका इन्भेष्टमेन्टको ६.४३ प्रतिशत शेयर स्वामित्व छ। कम्पनीमा संस्थागत लगानीकर्ताको शेयर स्वामित्व ३६.०६ प्रतिशत छ।
कम्पनीको हाल २१ वटा शाखा कार्यालय, ५६ वटा उपशाखा र १५ हजार भन्दा धेरै अभिकर्ताहरु मार्फत जीवन बिमा व्यवसाय गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।