काठमाडौं- सेयरका खेलाडीले बीमा कम्पनीको सेयर बिक्री गरेर वाणिज्य बैंकको सेयर उठाउँदा नेप्से सूचक १६ अंकले सुधार भएको छ। विगतका दिनमा सबैभन्दा धेरै अंकले सुधार भएको बीमा कम्पनीको सेयरबाट नाफा बुक गरेर तीनै लगानीकर्ताले वाणिज्य बैंकको सेयर खरिद गर्न थालेका हुन्।
वाणिज्य बैंकको सूचक २.३५ प्रतिशतले सुधार हुँदा नेप्से सूचक १.६० प्रतिशतले बढेको छ। साताको पहिलो कारोबार २१.२६ अंकले सुधार भएर १३४६.६४ अंकमा पुगेर रोकिएको छ।
दुई साता अगाडि १३४३ अंकबाट ६३ अंकले करेक्सन भएको सेयर बजार पुनः सुधार हुने क्रममा आइतबार २१ महिनायताकै उच्च विन्दु कायम गरेको हो।
सूचकमा आएको सुधारसँगै दोस्रो बजारमा कारोबार रकम दुई अर्ब ७ करोड रुपैयाँ पुगेको छ। बजारमा कारोबार रकमले साथ दिए पछि लगानीकर्ता हौसिएर सेयर खरिद गरिरहेका छन्।
एउटै लगानीकर्ताले पोर्टफोलियो परिवर्तन गर्दै कारोबार रकम बढाउदा दुई अर्ब नाघ्न थालेको छ। तीन चार महिना अगाडि दैनिक ३० करोड रुपैयाँको हाराहारीमा मात्र कारोबार हुने सेयर बजार अहिले २ अर्बभन्दा माथि पुग्न थालेको हो।

आइतबार जीवन बीमाको सूचक थोरै अंकले घटेको छ। सस्ता बीमा कम्पनीको मूल्यमा लगातार सुधार भैरहेको भए पनि गएका दिनमा बढेको कम्पनीमा लगानीकर्ताले नाफा बुक गर्दा घट्न थालेको हो।
तिनै बीमा कम्पनीबाट आर्जन भएको नाफाबाट बैंकहरुको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दा बजारमा थप गतिशील बनेको छ। एक पटकमा एउटा सूचकमा सुधार आउने केहि समय पछि अर्को सूचकमा सुधार आउने ट्रेन्डले पनि बजार स्थिर भएर सुधार हुन थालेको विश्लेषण गरिएको हो।

बजारको बियरिस ट्रेन्ड पूर्ण रुपमा सकिएर विस्तारै बुलिस ट्रेन्डमा जाने क्रम अघि बढ्दा कारोबार रकम क्रमशः बढिरहेको छ। सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा लघुवित्त र बीमा कम्पनी छन्। सबैभन्दा धेरै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १० करोड ११ लाख रुपैयाँको कारोबार भएको छ। १७५ वटा कम्पनीको कारोबार हुँदा १०८ वटाको सुधार भएको छ भने ३८ वटाको मूल्यमा गिरावट आएको छ भने १४ वटाको मूल्यमा कुनै पनि परिवर्तन देखिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।