काठमाडौं- हिमालयन डिस्ट्रिलरीको बिक्री ३.६९ प्रतिशतले घटे पनि नाफा ३६.७० प्रतिशतले बढेको छ।
कम्पनीको उत्पादन लागत घट्दा नाफामा उल्लेख्य सुधार देखिएको हो। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा कम्पनीले २५ करोड ४० लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको सोहि अवधिमा कम्पनीले १८ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यसै अवधिमा कम्पनीले आफ्नो उत्पादन बिक्री गरेर एक अर्ब ८ करोड रुपैयाँ आर्जन गरेको छ। जवकी गत वर्षको यहि अवधिम एक अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको थियो। तर उत्पादन लागत तथा अन्य खर्चमा भएको कटौतीले नाफामा उल्लेख्य सुधार भएको हो।
शेयर पुँजी ५० प्रतिशतले बढ्दा प्रतिशेयर आम्दानी ९ रुपैयाँले मात्रै घटेको छ। पुँजीसँगै नाफामा पनि उल्लेख्य सुधार गर्न सक्दा कम्पनीको प्रतिशेयर आम्दानीमा खासै गिरावट आएन। कम्पनीको चुक्ता पुँजी ५७ करोड ८४ लाख रुपैयाँ छ। गत वर्ष ३८ करोड ५६ लाख रुपैयाँ थियो। त्यस्तै जगेडा कोषमा ४६ करोड ३२ लाख रुपैयाँ जम्मा भएको छ।
कम्पनीले गएको वर्ष प्लान्ट निर्माण तथा क्षमता विस्तार गर्न सफल भएको थियो। आफ्नो खर्चलाई मितव्ययी बनाउन खोज्दा नाफामा उल्लेख्य सुधार गर्न सकिएको डिष्ट्रिलरीले जनाएको छ। कम्पनीले आफ्नो गोल्डेन ओकको ब्राण्डको हुवहु नक्कल गरी अन्य कम्पनीले उत्पादन गर्दा व्यापार विस्तारमा असर परेको जनाएको छ। हरेक वर्ष मदिराको अन्तःशुल्कमा वृद्धि गर्दा बिक्रीमा कमि हुँदै आएको कम्पनीको विश्लेषण छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।