काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबार एउटा सूचना जारी गर्यो। राष्ट्र बैंकको सूचनाअनुसार सामाजिक सञ्जालहरू फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा विज्ञापन गर्नु गैरकानुनी हो र यस्ता कार्य गरेमा अब कारबाही हुनेछ।
सामाजिक सञ्जालहरूमा विज्ञापन गर्ने र त्यसको भुक्तानीका लागि विदेशमा पैसा पठाउने प्रवृत्ति बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि राष्ट्र बैंकले यो कदम चालेको हो। 'हाम्रो कानुनले परिभाषित नगरेको क्षेत्रमा विदेशी मुद्रा भुक्तानी बढ्दै गएको पाइएपछि अर्थ मन्त्रालयसँगको छलफलपछि यस्तो सूचना प्रकाशित गरिएको हो,' राष्ट्र बैंक स्रोतले भन्यो।
नेपालबाट सामाजिक सञ्जालहरू फेसबुक र युट्युबमा धेरै विज्ञापन हुने गरेको छ। ठूला व्यवासायिक फर्म, अनलाइन कारोबार गर्ने कम्पनीहरू तथा शैक्षिक प्रतिष्ठानहरूले सामाजिक सञ्जालमा धेरै विज्ञापन गर्ने गरेका छन्। आमसञ्चारका माध्यमहरूले पनि आफ्ना विषयवस्तु सामाजिक सञ्जालमा खर्च गरेरै प्रचार गर्ने गरेका छन्। त्यसैलाई नियन्त्रणका लागि सरकारले नयाँ कदम चालेको हो।
विज्ञापनको हिसाब कतै छैन
अर्थ मन्त्रालय र राष्ट्र बैंकसम्बद्ध अधिकारीहरूका अनुसार नेपाली कम्पनीहरुले सामाजिक सञ्जालमा गर्ने त्यस्ता विज्ञापनको हिसाब कतै छैन। इन्टरनेटमा आधारित व्यवसाय गर्ने कम्पनीहरुले विदेशमा रहेका पेपाललगायतका अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक कम्पनीहरुको खाताबाट भुक्तानी गर्ने गरेका छन्। नेपालबाट त्यस्ता कम्पनीमार्फत भुक्तानी दिनु गैरकानुनी हो।
'नेपालबाट त्यस्ता सामाजिक सञ्जालमा कति रकमको विज्ञापन हुन्छ र कति विदेशी मुद्रा नेपालबाट बाहिर जान्छ भन्ने कुनै हिसाब हुँदैन,' राष्ट्र बैंकका एक अधिकृतले भने, 'यसरी पैसा दिनु गैरकानुनी हो भन्ने जान्दाजान्दै पनि कतिपय कम्पनीहरुले भुक्तानी दिइरहेका छन्, त्यसैलाई नियन्त्रण गर्न खोजिएको हो।'
नेपालबाट वैधानिक आयातको भुक्तानी दिन, तोकिएको सीमासम्म विदेशी विद्यालय तथा विश्वविद्यालयमा भुक्तानी दिन, तोकिएको सीमासम्म उपचार खर्च लैजान र भ्रमणका लागि १५०० अमेरिकी डलरसम्म विदेशी मुद्रा साथमा लैजान पाइन्छ। यसैगरी नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले आफ्नो लाभांश वापतको रकम पनि लैजान सक्छन्।
एक्कासी यस्तो निर्णय गरिएको हो?
अर्थ मन्त्रालयले करिब डेढ वर्ष अघिदेखि यसको तयारी गरेको थियो। तर यथार्थ तथ्यांक उपलब्ध नहुँदा सरकारले कारबाही अघि बढाउन सकेको थिएन। अर्थ मन्त्रालयले यसअघि नै सामाजिक सञ्जालमा विज्ञापन वापत हुने यस्ता भुक्तानीलाई सम्बन्धित कम्पनीको खर्चमा देखाउन नमिल्ने व्यवस्था गर्ने समेत जनाइसकेको छ।
'नेपालबाट पैसा बाहिरिन नदिन हामीले केही उपाय गर्नुपर्छ भनेर सोचेका हौं, अहिले त्यसैको तयारीस्वरुप राष्ट्र बैंकबाट निर्देशन आएको छ,' अर्थका एक अधिकारीले भने, 'हामी पनि कडाइ गर्छौं। सरकारले सूचना प्रविधि विधयेकमार्फत सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने व्यवस्था गर्न खोजेको छ, त्यसपछि नेपालमा दर्ता हुने कम्पनीमा विज्ञापन गर्न सकिन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।