काठमाडौं- राष्ट्र बैंकले सामाजिक सञ्जालमार्फत डलर खर्च गर्दै बुस्ट गरे कारबाही गर्ने भएको छ। फेसबुक, ट्वीटर, युट्युवजस्ता सामाजिक सञ्जालमा गरिने विज्ञापन गैरकानुनी भएको भन्दै कसैले गरेमा राष्ट्र बैंकले कारबाही गर्ने जनाएको हो।
राष्ट्र बैंकले शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै यस्तो निर्देशन दिएको हो। पछिल्लो समय कतिपय बैंक तथा वित्तीय संस्था, कर्पोरेट संस्था, होटल रेष्टुरेन्ट तथा अन्य व्यवसायिक संघसंस्थाहरुले सामाजिक सञ्जालमार्फत विज्ञापन गर्दै आएका थिए।
राष्ट्र बैंकले सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापन वापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानूनी भएको समेत जनाएको छ।
साथै राष्ट्र बैंकले यसरी गरिने विज्ञापनका लागि विदेशी मुद्रा सटही नगरेको र नगर्ने समेत बताएको छ।
‘सटही सुविधा नदिई विदेशी संस्थालाई भुक्तानी गर्नु गैरकानुनी हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी विज्ञापन गर्नेलाई कारबाही हन्छ।’
साथै यसरी विज्ञापन नगर्न समेत राष्ट्र बैंकले सचेत गराउँदै प्रतिबन्ध लगाएको हो। ‘यसरी हुने कारोबार विदेशी मुद्रा अपचलन हो। कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय नियमित गर्ने ऐन र प्रचलित कानुनबमोजिम कारबाही हुनेछ‚’ विज्ञप्तिमा उल्लेख छ।
सामाजिक सञ्जालमा बुस्टका माध्यमबाट विदेशिने मुद्रा अनौपचारिक माध्यमबाट बाहिरिएका कारण बैंकिङ प्रणालीमा ल्याउनका लागि यो निर्देशन जारी गरिएको बैंकले जनाएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।