काठमाडौ- चालू आर्थिक वर्ष २०७६/०७७ को ६ महिनामा नेपालले भारत तथा तेस्रो मुलकबाट झन्डै ७ खर्ब बराबरको सामान आयात गरेको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअुनसार चालू आवको ६ महिनामा नेपालले कुल ६ खर्ब ९४ अर्ब ६९ करोड ३७ लाख २२ हजार रुपैयाँ बराबरको सामान आयात गरेको हो।
उक्त रकम गत आव २०७५/०७६ को पहिलो ६ महिनाको भन्दा ४ प्रतिशतले कम हो। गत आवको साउनदेखि पुस मसान्तसम्ममा नेपालले भारत तथा तेस्रो मुलुकबाट ७ खर्ब २३ अर्ब ९३ करोड ७५ लाख १९ हजार रुपैयाँ बराबरको सामान आयात गरेको थियो।
आयात घटेसँगै निर्यात भने २६ प्रतिशतले बढेको छ। चालू आवको साउनदेखि पुससम्ममा नेपालले ५७ अर्ब २७ करोड ९७ लाख ४८ हजार रुपैयाँ बराबरको सामान भारत तथा तेस्रो मुलुकमा निर्यात गरेको छ। निर्यात रकम गत आवको सोही अवधिको भन्दा २६ दशमलव १३ प्रतिशतले बढी हो।
गत आवको पहिलो ६ महिनामा नेपालबाट ४५ अर्ब ४१ करोड २४ लाख ५९ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको थियो। यसैगरी चालू आवको पहिलो ६ महिनाको वैदेशिक व्यापार पनि २ दशमलव २६ प्रतिशतले घटेको छ। तर, गत आवको सोही अवधिको वैदेशिक व्यापार खर्ब ७ खर्ब ६९ अर्ब ३४ करोड ९९ लाख ९७ हजार रुपैयाँ थियो।
चालू आवको पहिलो ६ महिनाको नेपालको कूल वैदेशिक व्यापार रकम ७ खर्ब ५१ अर्ब ९७ करोड ३४ लाख ७० हजार रुपैयाँ छ। चालू आवको कूल वैदेशिक व्यापार रकमको आयातको हिस्सा ९२ दशमलव ४ प्रतिशत र निर्यातको हिस्सा ७ दशमलव ६ प्रतिशत छ। तर, गत आवको सोही अवधिको वैदेशिक व्यापारमा आयातको ९४ दशमलव १ प्रतिशत र निर्यातको हिस्सा ५ दशमलव ९ प्रतिशत थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।