काठमाडौं- पर्यटन बोर्डका प्रमुख कार्यकारी अध्यक्ष (सिइओ) डा धनञ्जय रेग्मीले पदभार ग्रहण गरेका छन्।
नवनियुक्त बोर्डका सिइओ डा रेग्मीले बिहीबार पदभार ग्रहण गरेका हुन्।
रेग्मीलाई नेपाल पर्यटन बोर्डको सञ्चालक बोर्डले सिइओ नियुक्ति गर्ने निर्णय गरेको थियो।
मंगलबार नेपाल पर्यटन बोर्डमा बसेको सञ्चालक बोर्ड बैठकले डिसेम्बर २३ गतेदेखि रिक्त बोर्डको सिइओ पदमा उनलाई नियुक्ति गर्ने निर्णय गरेको थियो।
बोर्डले सिइओ छनोट उपसमितिले सिफारिस गरेका ३ जनाको नामबाट रेग्मीलाई ४ वर्ष कार्यकालका लागि सिइओमा नियुक्ति गर्ने निर्णय गरेको थियो।
छनोट उपसमितिले माघ ५ मा नयाँ सिइओका लागि सिफारिस गरेका ३ जना उम्मदवारको नाममा एकमत नभएपछि विवाद सुरु भएको थियो। तर, पर्यटन नियमावली २०५५ र सिइओ छनोट कार्यविधि मिच्न चलखेल सुरु भएसँगै छनोट उपसमिति सदस्यहरूले चेतावनीसमेत दिँदै आएका थिए।
छनोट उपसमितिले नयाँ सिइओका लागि आवदेन दिएका १७ जनाबाट ९ जनाको नाम 'सर्ट लिस्ट' गरी धनञ्जय रेग्मी, हिकमत सिंह ऐर र दीपक बस्ताकोटीको नाम नेपाल पर्यटन बोर्डको सञ्चालन समितिमा रिफारिस गरेको थियो।
तर, सञ्चालक समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले छनोट उपसमितिले नयाँ सिइओ छनोटका लागि सिफारिस गरेका ३ जनाको नाममा ५ जनाको हुनुपर्ने भन्दै ६ गते सोमबार बैठक नै अनिश्चितकालका लागि स्थगित गरिदिएका थिए।
को हुन् रेग्मी?
धनञ्जय रेग्मी हिमालय रिसर्च एक्पिडिसन प्राइभेट लिमिटेडको अध्यक्षका रूपमा काम गरिरहेका व्यक्ति हुन्। भूगर्भ तथा हिमनदीका विषयमा उनको विज्ञता छ।

जापानको होक्काइदो विश्वविद्यालयबाट सन् २००६ मा इन्भाइरोमेन्टल अर्थ साइन्समा विद्यावारिधि गरेका थिए। विद्यावारिधि गर्नुअघि उनले बुढानीलकण्ठ उच्च माध्यमिक विद्यालयमा भूगोलशास्त्रको अध्यापन पनि गरेका थिए। त्यस्तै उनले हिमालयन रिसर्च सेन्टर, काठमाडौंमा अनुसन्धानकर्ताका रूपमा पनि लामो समयसम्म काम गरेका छन्।
विद्यावारिधि उपाधि लिएपछि उनले जापानको ग्लोबल ल्यान्ड प्रोजेक्ट (एनओडिएयल)मा पनि अनुसन्धानकर्ता थिए। त्यस्तै संयुक्त राज्य अमेरिकाको अरिजोना विश्वविद्यालयबाट डेन्ड्रोक्रोनोलोजी विषयमा तीनमहिने पोस्ट डक्ट्राइन कोर्स गरेका थिए।
हाल उनी त्रिभुवन विश्वविद्यालय भूगोल तथा वातावरणविज्ञान केन्द्रीय विभागमा सहायक प्रोफेसरका रूपमा समेत काम गरिरहेका छन्। डा रेग्मी नेपाल भौगर्भिक समाजको उपाध्यक्षसमेत हुन्। उनी सन् २००७ देखि जलवायु परिवर्तन र पारिस्थितिक प्रणालीबारे निरन्तर अध्ययनमा छन्। अन्तराष्ट्रिय संस्था सोसाइटी अफ इकोलोजिकल रेस्ट्रोरेसन (एसइआर) नेपाल च्याप्टर प्रमुखका रूपमा पनि काम गरिसकेका छन्। उनले हिमनदी तथा हिमतालसम्बन्धी प्राविधिक सल्लाहकारका रूपमा ‘इम्जा लेक लोअरिङ प्रोजेक्ट’मा पनि काम गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।