काठमाडौं- नेपाल विद्युत प्राधिकरणले स्याङ्जाको मिर्मीमा नयाँ सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ। प्राधिकरणको योजना तथा प्राविधिक सेवा विभाग अन्तर्गतको विस्तारित विद्युत वितरण आयोजना र वितरण प्रणाली सुदृढीकरण आयोजनाको संयुक्त प्रयासमा उक्त सबस्टेसन निर्माण गरिएको हो।
कालिगण्डकी जलविद्युत केन्द्रको ड्यामसाइट नजिक रहेको कर्मचारी आवास क्षेत्रको छेउमा साबिकको इटाली चोकमा रहेको पुरानो जिर्ण सबस्टेसन जहाँ ३३/११ के.भी. १.५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरबाट लाइन वितरण गरिएकोमा उक्तसबस्टेसनको स्तरोन्नती गरी ३३/११ के.भी., ६/८ एमभिएको पावर ट्रान्सफर्मर जडान गरिएको छ।
साथै करिब १२ किलोमिटर ११ केभी लाइन समेत निर्माण गरिएको छ। २०६८ सालदेखि उक्त स्थानमा एशियाली विकाश बैंकको सहयोगमा सबस्टेसन निर्माण कार्यको थालनी गरिएता पनि उक्त ठेक्का लिएको भारतीय निर्माण कम्पनी अरावली ईन्फ्रा पावर लिमिटेडले निर्धारित समयमा काम सम्पन्न नगरेको कारण उस्ले सम्पन्न गर्न बाँकी रहेको काम बंगलादेशको ईनर्जी प्याक ईन्जिनियरिङ लिमिटेडले पुरा गरेको हो।
हाल उक्त स्थानमा सञ्चालन गरिएको सबस्टेसनबाट स्याङ्जाको मिर्मीलगायत सेतिबेनी, बिर्घा र गल्याङको केही भाग, गुल्मीको केही भाग, पर्वताको केही भागलगायत रुरु क्षेत्रमा समेत विद्युत सेवाको गुणस्तरमा सुधार र वितरण प्रणालीमा सहज भई करिब ९ हजार घरधुरीले गुणस्तरीय र भरपर्दो विद्युत प्रयोग गर्न पाएको स्याङ्जा वितरण केन्द्रका प्रमुख दिलिप मरासिनीले बताए।
नयाँ सबस्टेसनबाट बिर्घा र सेतीबेनी फिडर सञ्चालन गरिएको छ भने थप अर्को ११ केभी फिडरको लागि लाइन वितरण गर्ने संरचना समेत तयारी अवस्थामा राखिएको आयोजनाका सहायक ईन्जिनियर दुर्गादत्त सुवेदीले बताए।
उक्त सबस्टेसन निर्माणको क्रममा साबिकको ठेकेदार कम्पनीले प्राधिकरणको स्वामित्वको जग्गामा निर्माणकार्य जारी राखेको समयमा केही स्थानीय बासिन्दाबाट काममा रोकावट भई काम हुन नसकेकोमा हाल उक्त स्थानमा कालिगण्डकी गाँउपालिका, स्याङ्जा वितरण केन्द्र र कालिगण्डकी जल विद्युत केन्द्रको समन्वयमा उक्त नो लाइट भवनको बाँकी काम समेत अबको १ महिनाभित्रमा सम्पन्न हुने गरी निर्माण कार्यलाई अगाडि बढाइएको आयोजना प्रमुख बोधराज ढकालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।