काठमाडौं- दोस्रो बजारमा एक वर्षयताकै सबैभन्दा बढी कारोबार भएको छ। बिहीबार शेयर बजारमा एक अर्ब ९६ करोड रुपैयाँको कारोबार भएको हो। यस अगाडि सबैभन्दा धेरै दुई अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो।
पछिल्लो समय शेयर बजारमा सुधार आउने क्रम बढेसँगै कारोबार रकम पनि बढिरहेको छ।
बजार यस अवधिमा ६४ अंकको करेक्सनपछि पुनः सुधार हुन थालेपछि लगानीकर्ता हौसिएका हुन्।
बिहीबार शेयर बजारलाई बीमा कम्पनीले बढी साथ दिएका छन्।
वाणिज्य बैंकको सूचकमा १.६१ प्रतिशतले सुधार आउँदा कारोबार भने बीमा कम्पनीहरुकै बढी छ।
सबैभन्दा धेरै कारोबार हुने १० कम्पनीमा ९ वटा बीमा कम्पनी छन्।
सबैभन्दा बढी सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ११ करोड रुपैयाँको कारोबार भएको छ।
अबको सिजन बीमा कम्पनीको भएकाले पनि लगानीकर्ताको ध्यान यस तर्फ गएको हो।
अहिलेसम्म एउटा पनि जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छैनन्।
फागुन/चैत लागे सँगै बीमा कम्पनीले लाभांस घोषणा गर्न थाल्नेछन्।
एक्चुरियल मूल्याङ्कनका कारण बीमा कम्पनीको लेखापरीक्षण प्रतिवेदन तयार पार्न ढिलाइ हुँदै आएको छ।
अबको समय बीमा कम्पनीले राम्रो लाभांश घोषणा गर्ने र त्यही लाभांशका आडमा लगानीकर्ता हाबी हुँदा बजार सुधार हुन टेवा पुगेको हो।
बिहीबार व्यापारको सूचक बाहेक सम्पूर्ण सूचक तथा उपसूचक सुधार देखिएका छन्।
नेप्से सूचक १९.५१ अंकले सुधार भएर १३२५.३८ अंकमा रोकिएको छ।
१७८ वटा कम्पनीको शेयर कारोबार हुँदा ११३ वटाको मूल्य बढेको छ भने ३३ वटाको मूल्यमा गिरावट आएको छ।
कारोबार रकम सँगै सबैभन्दा धेरै मूल्य सुधार हुनेमा बीमा कम्पनी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।